एमाले कास्कीको प्रशिक्षण

पोखरा ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले कास्कीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ । प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी, कार्यसमितिका सदस्य, पालिका तथा इलाका कमिटीका अध्यक्ष गरी १ सय ५० जनाको सहभागिता रहेको उपाध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए ।
कार्यक्रममा पार्टीका उपमहामहासचिव प्रदीप ज्ञवालीले दशांै राष्ट्रिय महाधिवेशबाट पारित सिद्धान्त कार्यक्रम र कार्यदिशा र सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेले सरकारको भूमिका, स्थायी समितिका सदस्य खगराज अधिकारीले पाटी निर्माण र संगठन परिचालन सम्बन्ध, पार्टीका गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले नेपालमा क्रियाशील पार्टीको विवेचना र एमाले विषयमा प्रशिक्षण दिएको उपाध्यक्ष अधिकारीले बताए ।
पार्टीका उपमहासचिव ज्ञवालीले एमालेको आर्थिक नीतिको सार सामाजिक न्यायसहितको विकास र समृद्धि भएको जानकारी दिए । समाजवाद पार्टीको रणनीति लक्ष्य भएको उल्लेख गर्दै उनले राष्ट्रिय पुँजी निर्माणको अवस्था कमजोर भएकाले समाजवादको आधार निर्माण प्रमुख चुनौती भएको बताए । उत्पादनका साधनमा सबैको पहुँच विस्तार, राष्ट्रिय पुँजीको निर्माण गरी स्वाधीन अर्थतन्त्रको विकास गरे मात्र समाजवादको आधार तय गर्न सकिने उल्लेख गरे ।
जनताको वहुदालीय जनवादको औचित्य समाप्त नभएको जानकारी दिदै उनले आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण गरी समाजवादको आधार निर्माणको चरणमा रहेको बताए । एमालेले अब २०५१ सालमा गरेका राम्रा कामको गीत गाउन नपर्ने उल्लेख गर्दै उनले पछिल्लो कार्यकालमा एमाले सरकारले सामाजिक सुरक्षा योजना, स्वास्थ्य बीमा, पालिका स्तरमा अस्पताल निर्माण, योगदानमा आधारित सामाजिक सुरक्षा योजना लगायतका प्रगतिशील कार्यक्रम ल्याएको जानकारी दिए ।
उनले दशौं महाधिवेशनले पार्टी विभाजनको मनोविज्ञानलाई चिर्न सफल भएको दाबी गरे । नेपाली कांग्रेसबाट राष्ट्रियता, जनवाद र जनजीविका सम्भव नभएको कारण विकल्पको रुपमा कम्युनिस्ट पार्टी गठन भएको जानकारी दिदै उनले सत्तारुढहरुले कम्युनिस्ट पार्टीलाई कांग्रेसको अधिनस्थ एउटा मामुली अंग बनाएको दाबी गरे ।
स्थायी समिति सदस्य अधिकारीले पार्टीलाई विचार धारात्मक, राजनीतिक र संगठनात्मक रुपमा एकीकृत राख्नु आजको आवश्यकता भएको बताए । उनले एमालेका आन्तरिक एकता नभए देश जोखिममा पर्ने तर्क गरे । लेनिनवादी संगठनात्मक सिद्धान्तले पार्टीभित्र कुनै पनि खालको विचार धारात्मक गुट तथा संगठनात्मक गुटलाई नसहने जानकारी दिदै उनले पार्टी एकतालाई सर्वोपरी ठान्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा पार्टीका स्थायी समितिका सदस्य थममाया थापाले सदस्यलाई सामाजिक र वैचारिक रुपले जति बढी प्रशिक्षित गर्न सक्छौं, त्यति नै पार्टीमा अनुशासन तथा संगठनात्मक पद्धति बलियो हुने जनाइन् । पार्टीका गण्डकी प्रदेश कमिटीका सचिव दवाडीले नेपाली कांग्रेसले नारा लोकतन्त्रको लगाएपनि सत्तामा पुगेपछि व्यवहारमा अधिनायकवादी भएको आरोप लगाए । उनले कांग्रेसले सत्ता चलाउँदा गैर कानुनी काममा ध्यान दिने उल्लेख गरे ।
जिल्ला कमिटी कास्कीका उपाध्यक्ष अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षत्री, उपसचिव दर्शन लामाले जिल्ला कमिटीपछि पालिका, इलाका, वडा तथा टोल कमिटीसम्म समसामयिक राजनीति, पार्टीको भूमिकाको बारेमा प्रशिक्षण कार्यक्रम गर्ने बताए ।
तपाईको प्रतिक्रिया