कास्की मोर्डनाइज्डको रजत महोत्सवको तयारी पूरा

पोखरा ।
पोखरा महानगरपालिका वाड नम्बर १४ बिपी मार्गमा अवस्थित कास्की मोर्डनाइज्ड एकेडमीले आफ्नो २५ औं वसन्त पार गर्दै गरेको अवसरमा यो वर्ष भरि नै विविध कार्यक्रम गर्दै आएर माघ २६ गते शुक्रबार रजत महोत्सव सम्पन्न गर्न लागेको कुरा बताएको छ ।
कास्की मोडनाइज्ड एकेडमी २०५५ सालमा ९० जना विद्यार्थी र १३ जना शिक्षक साथमा लिएर पोखरा–१० शिवचोकमा रामबहादुर मोचीद्वारा स्थापना गरिएको थियो । विद्यालयमा २ हजार विद्यार्थी र १६० जना शिक्षक कर्मचारी छन् ।
विद्यालयले यो वर्षलाई आफ्नो रजत महोत्सव वर्ष नामकरण गरी आफ्ना हरेक क्षेत्रमा प्रयोग गरिने चिठी तथा कागजातमा समेत रजत महोत्सवको लोगो प्रयोग गर्दै आएको थियो । विद्यालयले अन्तर विद्यालय जिल्ला स्तरीय युगल नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लोकगीत प्रतियोगिता जस्ता कार्यक्रमहरु समापन गरिसकेको छ । हरेक प्रतियोगितामा आप्mनो विद्यालयलाई भने अप्रतियोगी विद्यालयका रुपमा सहभागी गराएको थियो ।
विद्यालयले रजत महोत्सवकै सन्दर्भ पारेर रक्तदान कार्यक्रम, नेत्रहीनहरुका लागि सेतो छडी वितरण, सडकमा गाएर गुजारा चलाउनेहरुका लागि स्वीकर आदि समेत वितरण गरेको थियो । जिल्ला स्तरीय प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण भने माघ २६ गते समापन समारोहमा गर्ने विद्यालयका सहायक प्रधानाध्यापक शिवलाल उपाध्यायले बताए ।
विद्यालयले रजत महोत्सव मनाउने दिन नजिकै आउँदा तयारी पनि लगभग पूरा भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले रजत स्तम्भ अनावरण गरी कार्यक्रम उद्घाटन गर्ने भएका छन् । उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, भूपू विद्यार्थी, भूपू शिक्षकहरु गरी लगभग ५ हजार जनाको उपस्थिति बनाउने लक्ष्य विद्यालयले राखेको छ ।
माघ २६ गते विहान ९ः३० बाट साँझ ६ बजे सम्म रजत महोत्सव समापन समारोह सञ्चालन हुनेछ । उक्त कार्यक्रममा लोकसंगित क्षेत्रबाट नारायण रायमाझी, हास्य व्याङ्ग्य कलाकारिताको क्षेत्रबाट शैलेन्द्र सिम्खडा, शैक्षिक व्यक्तित्व प्राडा गणेशमान गुरुङलाई नगद र ताम्रपत्रसहित अभिनन्दन गर्ने कार्यक्रम छ ।
सोही अवसरमा शिक्षक, कर्मचारीहरुलाई दीर्घसेवा तथा केएमए रत्नपदकद्वारा सम्मान गरिने भएको छ । रजत महोत्सवका अवसर पारेर विद्यालयले रेडक्रस सोसाइटीको बन्दै गरेको भवनलाई ७० हजार र महावीर पुन आविष्कार केन्द्रलाई ५० हजार रुपैयाँ नगद सहयोग गर्ने भएको छ ।
उक्त समारोहमा विद्यार्थी द्वारा निर्मित सामग्रीको शैक्षिक प्रदर्शनी, होटल म्यानेजमेण्टका विद्यार्थीहरुले खाजा र चिया कफी डेस्क सञ्चालन, त्यही पढेर अहिले डाक्टर र नर्स भएका भूपू विद्यार्थीहरुबाट हेल्थ केम्प समेत सञ्चालन गरिने भएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्नो कला नृत्य, गायन, चित्रकला, मार्सलआर्ट, स्काउट सलामी, योगा, नाटक एवाकस आदि प्रस्तुत गर्नेछन् । २०७९ सालको विभिन्न पुरस्कारहरु समेत सोही अवसरमा वितरण गरिने भएको छ ।
तपाईको प्रतिक्रिया