समाजवादीका नेता श्रेष्ठद्वय एमालेमा फर्किए

समाधान संवाददाता २०८० फागुन २ गते ११:१४

पोखरा ।
तनहुँका नेकपा (एकीकृत समाजवादी)का दुई जना नेता मंगलबार नेकपा (एमाले)मा फर्किएका छन् । सो पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ एमालेमा फर्किएका हुन् । नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासलमा भएको कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायत नेताले श्रेष्ठहरुलाई एमालेमा स्वागत गरे । नेता श्रेष्ठद्वय एमालेमा फर्किएपछि एकीकृत समाजवादी तनहुँका धेरै कार्यकर्ता एमालेमा फर्कने तयारी गरेका एक नेताले बताए ।

Advertisement


प्रतापलाल एकीकृत समाजवादीका गण्डकी प्रदेश कमिटीका सचिवसमेत हुन् । एमालेमा फर्केपछि श्रेष्ठले अब पनि एकीकृत समाजवादीमा रहनु भनेको बालुवामा पानी खन्याए झै कुनै अर्थ नरहेकाले एमाले रोजेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष ओलीले नेतृत्व गरेको पार्टीको कार्यकर्ता भएर आफूलाई चिनाउन पाउँदा गर्व लागेको उनले उल्लेख गरे ।

नेपाली कांग्रेसको दबदबा रहेको तनहुँको व्यासमा एमालेलाई स्थापित गर्न योगदान रहेका नेता शंकरनारायणले फेरि पनि एमालेलाई तनहुँमा सबभन्दा ठूलो र बलियो बनाउन सक्रियता पूर्वक लाग्ने बताए ।


उनले तनहुँका सामाजवादीका धेरैभन्दा धेरै कार्यकर्तालाई एमालेमा फर्काउन भूमिका खुल्ने जानकारी दिए । नेकपा (एकीकृत समाजवादी) तनहुँका अध्यक्ष श्रीराम कार्कीको नेतृत्वमा नेता तथा कार्यकर्ताहरु एमालेमा फर्किसकेका छन् । कार्यक्रममा एमाले अध्यक्ष ओलीले घर फर्कने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया