पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल

समाधान संवाददाता २०८१ जेठ ७ गते १६:५०

भीमपाणि बराल / लेखनाथ
पोखरा विश्वविद्यालयले स्थापनाको २७ वर्षपछि शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । मुख्यमन्त्री खगराज अधिकारीले सोमबार उक्त अस्पताल उद्घाटन गरे । अस्पाताल १ सय शय्याको छ ।

Advertisement


२ वर्षपछि ३ सय शय्याको पुर्‍याउने लक्ष्य विश्वविद्यालयले राखेको छ । अस्पताल विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेकै स्थान पोखरा ३० खुदीमा छ । अस्पतालमा २४ सै घन्टाको सेवा छ । विशेषज्ञसहित १२ चिकित्सक र कर्मचारीहरुको व्यवस्था अस्पतालमा छ ।


मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य बिमालाई पहिलो प्राथमिकतामा राखेर शिक्षण अस्पतालले सेवा दिनुपर्ने कार्यविधि बनाउन आग्रह गरे । पोखरा विश्वविद्यालयमा शिक्षण अस्पताल ल्याउन सबैको पहल र प्रयत्नबाट मात्र सम्भव भएको उनको भनाइ थियो ।


३ सय शड्ढयाको अस्पताल बनाएर चिकित्साशास्त्रमा स्नातक तह (एमबिबिएस) को पढाइ सञ्चालन गर्न सके पढ्न बाहिर जानुनपर्ने मुख्यमन्त्री अधिकारीले बताए । प्रदेश अन्तर्गतको संक्रामक तथा सरुवा रोग अस्पताल र महानगर पालिका अन्तर्गतको शिशुवा अस्पताललाई मिलाएर लाने हो भने अहिले नै मेडिकल कलेज सञ्चालन गर्न सकिने उनले सुनाए ।


स्वास्थ्य बिमा परिचयपत्रबाट उपचार गर्न जाने बिरामीले अपमान भएर दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्ने चलनको अन्त्यको खाँचो अधिकारीले औंल्याए । ‘स्वास्थ्यको अधिकार सबैका लागि समान भएकाले सोही अनुरुपको व्यवहार गर्नुपर्छ,’ उनले भने ।

Advertisement


स्वास्थ्यकै कारण जनता शारीरिक एवं मानिसक रुपमा विचलन नहुने गरी संस्थाले सीमा र दायरामा रहेर सेवामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने अधिकारीले सुझाए । उनले शिक्षा र स्वास्थ्यमा गुणस्तर नभएमा देश विकास नहुने विचार व्यक्त गरे ।


सोही अवसरमा गण्डकी प्रदेशकी सामाजिक एवं स्वास्थ्य मन्त्री सीताकुमारी सुन्दासले प्रदेशभरिका ११ जिल्लाको अभियानको रुपमा स्वास्थ्य सेवा, नयाँ खोज र अनुसन्धानमा लाग्न विश्वविद्यालयलाई आग्रह गरेकी थिइन् ।


कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वविद्यालय प्रगति पथमा अगाडि बढेको बताउँदै शिक्षण अस्पतालले जिल्ला वडा र स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर विद्यार्थीले प्रयोगात्मक साथै अनुसन्धान गरेर परिमाण देखिने गरी नयाँ विषय वस्तुतर्फ अग्रसर हुनुपर्ने सुझाव राखे ।


पोखरा विश्वविद्यालयका रजिस्ट्रार एवं शिक्षण अस्पताल सञ्चालक समितिका अध्यक्ष प्राडा दीपकबहादुर भण्डारीले हरेक व्यक्तिमा आ–आफ्नै सपना हुने उल्लेख गर्दै आफूमा विश्वविद्यालयले सञ्चालन गर्ने यो देशकै, यो क्षेत्रकै एक उत्कृष्ट र स्मार्ट अस्पताल बनाउने सपना रहेको बताएका थिए ।


पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले १० करोड रुपैयाँको लागतमा बनेको शिक्षण अस्पतालले एमबिबिएसका कक्षा सञ्चालन गर्नैपर्नेमा जोड दिए । विश्वविद्यालयले अग्रगामी सोचका साथ समाज र देशलाई योगदान दिनुपर्ने धारणा पनि अर्यालले राखेका थिए ।


कार्यक्रममा स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिलाले उपचारका सबै विधिहरु प्रयोग गरेर स्थानिय र कर्मचारीहरुलाई विशेष सहुलितका योजना ल्याउने सुनाए । स्थानीयहरुको तर्फबाट विष्णु पाखरेल, पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. निरन श्रेष्ठ, कर्मचारी संघका अध्यक्ष चोलाकान्त चुवाईं, शिक्षण अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार यादव र सहप्रशासक तारादेवी सापकोटा लगायतले सबैको साथ, सहयोग र सहकार्यबाट मात्र विश्वविद्यालयले परिकल्पना गरेको मेडिकल कलेज सञ्चालन गर्न सकिने विचार व्यक्त गरे ।

तपाईको प्रतिक्रिया