एमाले पोखरा महानगर अधिवेशनमा मतदान आज

पोखरा ।
नेकपा एमालेको पोखरा महानगरपालिकाको दोस्रो अधिवेशनले चुनावबाटै नयाँ नेतृत्व चयन गर्ने प्राय निश्चित भएको छ । अधिवेशनको दोस्रो दिन आइतबार नेतृत्वका लागि सहमति नजुटेपछि उम्मेदवारी दर्ता भएको छ ।
महानगर नेतृत्वका लागि दुई पक्षले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गरेका छन् । अहिलका सचिव जीवन आचार्यले एउटा प्यानलको नेतृत्व गरेका छन् भने अर्को प्यानलको नेतृत्व दीपक पौडेलले नेतृत्व गरेका छन् ।
दुवैले आ–आफ्नो प्यानल बनाएर आइतबार उम्मेदवारी दर्ता गरेका हुन् । पोखरा १६ का आचार्यले अध्यक्षमा उम्मेदवार दिँदा उनको प्यानलबाट उपाध्यक्षमा वडा नम्बर २६ का नगेन्द्र ढुंगाना, सचिवमा २० का सुशील बस्नेत छन् ।
उपसचिवमा १९ की विष्णु गौतम र वडा नम्बर ५ का हरिमाया विकले उम्मेदवार दिएकी छन् । यो प्यानलबाट लेखाकमिटी अध्यक्षका लागि दुर्योधन गिरीले उम्मेदवारी दिएका छन् ।
अध्यक्षमा दीपक पौडेलसहित उनको प्यानलबाट उपाध्यक्षमा वडा नम्बर २९ का मोहन गुरुङ, सचिवमा २८ का दिनेशबाबु खड्का र उपसचिवमा १७ का लालबहादुर राना र ८ की किरण गौतमले उम्मेदवारी दिएका छन् । यो प्यानलबाट लेखाकमिटी अध्यक्षका लागि राजेश गुरुङ उम्मेदवार दिएका छन् । दीपक तत्तकालीन नेकपा (नेकपा) पोखरा महानगर कमिटीका पूर्व अध्यक्ष (संयोजक) हुन् ।
२०७८ कात्तिकमा भएको एमाले प्रथम महानगर अधिवेशनमा दिलीप न्यौपाने सर्वसम्मत अध्यक्ष भएका थिए ।
अधिवेशनबाट पदाधिकारीसहित १०१ जना छनोट हुनेछन् । अधिवेशनको दोस्रो दिन उम्मेदवारी दर्ता भएसँगै सोमबार बिहान ६ बजेदेखि मतदान हुने कार्यतालिका छ । ६८ क्लस्टरमा ५ पदाधिकारी र ९६ जना सदस्य निर्वाचित हुने छन् ।
जसमा २ सय २८ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत अधिवक्ता मदनप्रसाद तिवारीले बताए । अधिवेशनका लागि करिब ५ सय प्रतिनिधिले भाग लिएका छन् । तीमध्ये आयोजक कमिटीका १ सय १६, सदस्यीय सल्लाहकार समिति ४८ जना, वडा कमिटी २ सय ९६, जनवर्गीय संगठनबाट ३७ सहित ४ सय ९७ जना प्रतिनिधि सहभागी भएका हुन् ।
अधिवेशनका लागि कृष्ण थापा नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । सदस्यमा मञ्जुदेवी गुरुङ, दानबहादुर बानियाँ र बैनहादुर अधिकारी क्षत्री छन् । अधिवेशनको शनिबार पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए ।
मतदान सोमबार बिहान ७ बजेदेखि इलेक्ट्रिक भोटिङमार्फत हुने निर्वाचन कार्यतालिका छ । विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भएकाले उही दिन नै परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।
१३ जना सर्वसम्मत निर्वाचित
एमाले पोखरा महानगर कमिटीको दोस्रो अधिवेशनले १३ जनालाई आइतबार सर्वसम्मत निर्वाचित गरेको छ । सर्वसम्मत सदस्य निर्वाचित हुनेमा तारादेवी तिवारी (वडा ३), मीना ढकाल (६), राधिका कार्की (१४), गोमा आचार्य (१६), देवी तिउसिना (सम्झना, १७), सुशील पौडेल (१७) रमेशबहादुर थापा (१८) सर्वसम्मत निर्वाचित भएका हुन् ।
कार्यसमिति सदस्यमा नवीन भण्डारी (१९), भीमबहादुर गुरुङ (२०), नारायणबहादुर भण्डारी (२१) र नारायणप्रसाद त्रिपाठी(२८) छन् । दीपकराज लामिछाने (३३)सरस्वती भण्डारी आचार्य(३३) सहित १३ जना सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।
तपाईको प्रतिक्रिया