हातहातै जागिर पाइने शिक्षामा पनि विद्यार्थी अभाव

समाधान संवाददाता २०८१ जेठ २२ गते १०:१६

पोखरा ।
बागलुङको बलेवास्थित धौलागिरी बहुप्राविधिक शिक्षालय बाली र पशु विज्ञानका प्राविधिक जनशक्ति उत्पादन गर्छ । ती जनशक्ति पढाइसकेपछि खालि बसेका छैनन् । हातहाती काम पाएका छन् । अचेल भने शिक्षालयले आवश्यक विद्यार्थी पाउन सकेको छैन ।

Advertisement


२०७४ सालमा स्थापति धौलागिरी बहुप्राविधिक शिक्षालयमा सुरुआती वर्षहरुमा कोटा अनुसार नै विद्यार्थी भर्ना भइरहेका थिए । अहिले भने विद्यार्थी भर्नादर कम भएको प्रिन्सिपल राजन नेपाली बताउँछन् । ३ वर्षे डिप्लोमा अन्तर्गत शिक्षालयले यी २ विषयमा देशभरका ४० जना विद्यार्थीलाई पढाउँदै आइरहेको छ ।


यहाँबाट शिक्षा प्राप्त गरेका विद्यार्थीहरुले स्थानीय तहमा कृषि तथा पशु प्राविधिक पदमा जागिर खाइरहेका छन् । कतिपय विद्यार्थी स्वरोजगार भइरहेका छन् । ‘हाम्रो शिक्षालयका अधिकांश उत्पादन खाली बस्नुपरेको छैन,’ शिक्षालयका प्रिन्सिपल नेपाली भन्छन् ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आंगिक क्याम्पस यो शिक्षालयले बाली विज्ञान तथा पशु विज्ञानमा अध्यापन गर्न ४०/४० जनाको कोटाको अनुमति पाएको छ । ‘सुरुमा कोटा अनुसार नै विद्यार्थी भर्ना थिए, तर अहिले भने २२ जना विद्यार्थीलाई पढाउनु परिरहेको छ,’ नेपालीले भने ।

शिक्षालयको प्लस टुसम्मको हो, पास गरेपछि विद्यार्थीले बिएस्सीएजी पढ्न सक्छ

Advertisement


सुरुका वर्षहरुमा यस शिक्षालयमा बागलुङ, पर्वत तथा म्याग्दीका विद्यार्थीहरुको बाहुल्य थियो । प्रिन्सिपल नेपालीका अनुसार अहिले यहाँ पूर्वदेखि पश्चिमसम्मका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । टाढाका छात्राहरुलाई लक्ष्य गरेर शिक्षालयले १०० जना क्षमताको छात्रावास पनि सञ्चालन गरेको छ । छात्राबासमा छात्राहरुलाई मात्रै बस्ने सुविधा छ । खानाको पैसा भने विद्यार्थीले तिर्नुपर्ने हुन्छ । छात्रहरुले भने खाने बस्ने व्यवस्था आफै मिलाउनुपर्ने नेपालीको भनाइ छ ।


शिक्षालमा विहान १० बजेदेखि ५ बजेसम्म सैद्धान्तिक र प्रयोगशालाको पढाइ हुन्छ । प्रिन्सिपल नेपालीका अनुसार बाँकी बिहान र बेलुकाको समयमा विद्यार्थीले प्रयोगात्मक अभ्यासहरु गर्छन् । ‘यहाँ प्रयोगात्मक अभ्यासको लागि, कुखुरा फार्म, माछा पोखरी, बाख्रा फार्म, गाई गोठ, प्लास्टिक टनेल, बारी छन्,’ उनले भने, ‘नियमित सैद्धान्तिक कक्षापछि विद्यार्थीहरुले यहाँ प्रयोगात्मक अभ्यास गर्ने गरेका छन् ।’


यसका लागि शिक्षालयसँग छात्रावाससहित १ सय १५ रोपनी जमीन रहेको छ । सैद्धान्तिक र प्रयोगात्मक कक्षा समानान्तर हुने भएकाले यहाँका विद्यार्थीहरु आफ्नो क्षेत्रमा अब्बल ठहरिएको नेपालीको दावी छ । यी विद्यार्थीहरुलाई पढाउन १८ जना प्राविधिक शिक्षकसहित २७ जना कर्मचारी छन् । तत्कालीन शिक्षामन्त्री तथा यसै क्षेत्रका सांसद दीननाथ शर्माको पहलमा यो शिक्षालय स्थापना भएको हो ।


शिक्षालयले प्रतिविद्यार्थी ५० हजार शुल्क लिन्छ । ‘एक वर्ष ५० हजार तिरेपछि तीन वर्षे डिप्लोमा कोर्स पूरा हुन्छ,’ उनले भने । ३ वर्ष यहाँ अध्ययन गरेपछि इच्छुक विद्यार्थीले चाहेमा विश्वविद्यालयको अध्ययन अगाडि बनाउन सक्ने नेपालीले बताए । ‘यहाँको मान्यता भनेको प्लस टुसम्मको हो, पास गरेपछि विद्यार्थीले बिएस्सीएजी पढ्न सक्छ,’ उनले भने ।


यस क्षेत्रमा पानीको अभाव छ । जसका कारण प्रयोगात्मक कक्षाका लागि पर्याप्त पानी पुग्दैन । माछा सम्बन्धी प्रयोगात्मक अध्ययन गर्नुप¥यो भने, कहिलेकाहिँ त पोखरी रित्तै हुने नेपालीको दुखेसो छ ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद गण्डकी प्रदेशका सूचना अधिकारी शरद कोइरालाका अनुसार यस प्रदेशमा ३० वटा सामुदायिक विद्यालयले प्राविधिक धारतर्फ बाली र पशु विज्ञान विषय पढाइरहेका छन् । यसैगरी ३ वटा साझेदार संस्थाहरुले यी विषय पढाइरहेका छन् । परिषद आफैले आंगिक कलेजको रुपमा ८ वटा शिक्षालय सञ्चालन गरिरहेको छ ।


तर पनि प्रदेशका सबै वडाहरुमा कृषि तथा पशु प्राविधिकहरुको अभाव कायमै छ । गण्डकी प्रदेशमा रहेका ८५ वटा गाउँपालिकाका ७ सय ५९ वडा मध्ये अधिकांश वडामा कृषि तथा पशु प्राविधिक छ्रैनन् । प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सूचना अधिकारी ज्योति क्षेत्रीका अनुसार सबै वडामा प्राविधिक पुर्‍याउन लोक सेवा आयोग मार्फत परीक्षा लिईएको र छिट्टै प्राविधिकहरु वडावडा जानेछन् ।

तपाईको प्रतिक्रिया