पोखरा विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

पोखरा ।
पोखरा विश्वविद्यालयको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । जेठ २९ गते देखि ३१ गतेसम्म हाल परिवर्तित विश्वमा साइन्स तथा इन्जिनियरिङ क्षेत्रका विषयमा सम्मेलन हुन लागेको हो ।
कार्यक्रममा विद्यालय अन्तर्गतका विज्ञान तथा प्रविधि संकाय क्यापसका साथै ३०० भन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक विनयकुमार मिश्रले बताए । जापान कोरिया लगायत १२ देशले कार्यक्रममा सहभागिता जनाउने उनले बताए ।
सम्मेलनले विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न सहयोग पुग्ने मिश्रले विश्वास व्यक्त गरे । सम्मेलनमा विश्वमा आएका परिवर्तन, त्यसका चुनौती, समस्या कम गर्न प्रयोग गरिने ज्ञानलाई प्रस्तुत गर्न खोजिएको मिश्रको भनाइ थियो ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा डा सन्दुक रुइत, भुूकम्प प्रकोप व्यवस्थापनका विशेषज्ञ आमोदमणि दीक्षित, कोरियाका विशेषज्ञ कियोङ क्युन किम, जापानका विशेषज्ञ योसी मित्सु नाकाजिमा लगायत रहेको विद्यालयका सहप्रध्यापक अर्जुन गौतमले बताए ।
शैक्षिक क्षेत्रलाई सुधार्न शिक्षण पद्धतिमा परिवर्तन ल्याउनुपर्ने उनले उल्लेख गरे । सम्मेलनले विद्यार्थी, अनुसन्धाता, शैक्षिक संस्थाहरुलाई सहयोग पुग्ने उनले बताए । विद्यार्थी पलायनलाई रोक्न सम्मेलन गनुपर्ने, व्यावहारिक शिक्षामा जोड दिनुपर्ने साथै पढ्दै कमाउने संस्कृतिको विकास गर्नुपर्ने गौतमले औंल्याए ।
सम्मेलनमा लगभग ३० लाख खर्च हुने अनुमान छ । सम्मेलनमा १२० वटा साराशं पेपर प्रस्तुत गरिनेछ । विद्यालयबाट सम्बन्धन प्राप्त कलेज ५८ वटा, ४ वटा आंगिक र ३ वटा संयुक्त आंगिक कलेज गरी ६५ वटा कलेज सञ्चालनमा छन् । तिनमा ३५ हजारभन्दा बढी विद्यार्थी छन् ।
तपाईको प्रतिक्रिया