मनाङे छैटौंपटक मन्त्री

समाधान संवाददाता २०८१ जेठ २९ गते १६:१३

पाेखरा ।

Advertisement

नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त गरेका राजीव गुरुङ ऊर्फ दीपक मनाङे छैटौंपटक मन्त्री बनेका हुन् । प्रदेश सभाको दोस्रो कार्यकालमा उनी दोस्रोपटक मन्त्री बन्न पाएका हुन् ।

यसअघि एमाले नेता खगराज अधिकारी सरकारको पालामा २०८० चैत २६ गते उनलाई अधिकारीले भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए । त्यसअघि तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २०८० चैत ५ गते मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए । सोमबार विश्वासको मत पाएपछि पाण्डेले गुरुङलाई मन्त्री बनाएका हुन् ।


प्रदेश सभाको पहिलो कार्यकालमा सबैभन्दा पहिलोपटक संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई २०७८ वैशाख १६ गते युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका थिए । तर उनलाई नियुक्त गरेको १० औं दिनमै पृथ्वीसुब्बा नेतृत्व सरकार ढलेको थियो । लगत्तै वैशाख २९ गते पृथ्वीसुब्बा नै प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि मुख्यमन्त्री बने । त्यति बेला पनि जेठ ९ गते मनाङे फेरि मन्त्री नियुक्त भएका थिए । तर पृथ्वीसुब्बा सरकार महिना दिन पनि टिकेन ।

एमालेविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा माओवादी, जनमोर्चा र जसपाले गठबन्धन गरेका थिए । त्यो गठबन्धनलाई मनाङेले साथ दिए । उनको साथले मात्रै त्यो गठबन्धनले संसदमा बहुमत अर्थात ३१ सदस्य पुर्‍याउन सक्यो । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले २०७८ जेठ २९ मा मुख्यमन्त्री हुँदा मनाङेलाई मन्त्री बनाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया