पोखरा विश्वविद्यालयकाे अन्तर्राष्ट्रिय सम्मेलन

समाधान संवाददाता २०८१ जेठ ३० गते ११:४७

पोखरा ।
पोखरा विश्वविद्यालयकाे आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा तथा विज्ञान तथा प्रविधि संकायअन्तर्गतका पोखरा विश्वविद्यालयका सम्बन्धन तथा संयुक्त आंगिक कलेजकाे सह–आयोजनामा ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएकाे छ ।

Advertisement

‘इन्टरनेशनल कन्फरेन्स अन एप्लाइड साइन्स एण्ड इन्जिनियरिङ इन चेन्जिङ वल्ड’ विषयक सम्मेलनको उद्घाटन वरिष्ठ आँखा रोग विशेषज्ञ सन्दुक रुइत र पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले संयुक्तरूपमा गरे ।

सम्मेलनमा नेपाल लगायत भारत, पाकिस्तान, दक्षिण कोरिया, जापान, चीन, पाराग्वे, जर्मनी, अमेरिका, अष्ट्रिया र स्पेनका १२० जनाले कन्फरेन्स पेपर प्रस्तुत गरेका थिए । सम्मेलनमा ३०० जना भन्दा बढी सहभागि थिए ।

भूकम्प प्रविधि समाज नेपालका अध्यक्ष एवंम यूनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका व्यवस्थापन समितिका अध्यक्ष डा आमोदमणि दीक्षित, कोरियन प्राध्यापक डा कियुङ चुन किम, जापानिज प्राध्यापक डा योशिमित्सु नाकाजिमा, पाेखरा विश्वविद्यालयका प्राध्यापक डा टेकराज ज्ञवाली, उपकुलपति प्राडा प्रेमनारायण अर्याल, रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारी, प्राडा विनयकुमार मिश्र, विज्ञान तथा प्रविधि संकायका डीन प्रा राजेशकुमार ठगुराठी, गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटा लगायतले सम्मेलनलाई सम्बोधन गरेका थिए ।


सम्मेलनमा अहिलेकाे वर्तमान अवस्थामा विश्वमा इन्जिनियरिङ क्षेत्रमा भइराखेका अनुसन्धान विशेष गरेर व्यवहारिक विज्ञानले समाजको विकासमा कस्तो असर पार्छ, कहाँ कहाँ तिनिहरूलाई लागू गर्न सकिन्छ भन्ने विषयमा पेपर प्रस्तुतिकरण गरिएकाे प्राडा मिश्रले जानकारी दिए । हाल विज्ञान तथा प्रविधिमा कुन कुन विधामा अनुसन्धान भइराखेको छ त्यो थाहा हुने र एकै ठाउँमा बसेर विभिन्न देशका अनुसन्धानहरूको बारेमा जानकारी लिन सहज पुगेकाे उनकाे भनाइ छ ।

Advertisement

उनका अनुसार सम्मेलनमा सहभागिता जनाउने विद्यार्थी र नव अनुसन्धानकर्मीहरूलाई वरिष्ठ प्राध्यापक तथा अनुसन्धानकर्मीहरूसित भेटघाट, अन्तरक्रिया गर्ने, नेटवर्किङ गर्ने अवसर प्राप्त हुनेछ ।

यस्ता कार्यक्रमले पाेखराको पर्यटनको अभिवृद्धि गर्ने मात्र होइन, शैक्षिक विकासमा समेत ठूलो भूमिका खेल्ने डीन प्रा ठगुराठीले बताए । उनले सम्मेलनमा प्रस्तुत गरिएका कन्फरेन्स पेपरे व्यवहारिक विज्ञान, वातावरण, गणित लगायत सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कर्पोरेट इन्जिनियरिङ, मौसम परिवर्तन, फिजिक्स, सूचना प्रविधि लगायतका इन्जिनियरिङका विधाहरूमा रहेकोले यसले देश विकासमा ठूलो भूमिका खेल्ने बताए ।

सम्मेलनमा स्नातकतह र स्नातकोत्तरतहमा अध्ययन गर्ने विद्यार्थीहरु, जो नयाँ अनुसन्धानकर्ताहरु छन्, उनिहरुले प्रस्तुतिकरण गरेका छन् ।

पोष्टर प्रस्तुतिकरणमा पोखरा विश्वविद्यालयका, त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायतका विद्यार्थीले आफूले गरेको अनुसन्धानलाई पोष्टरको माध्यमबाट प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया