बाटुलेचौरको विन्ध्यवासिनी माविलाई प्रदेश उत्कृष्ट विद्यालय सम्मान

पोखरा ।
प्रिन्सिपल एसोसिएसन अफ नेपालले सातै प्रदेशाबट छनोट गरिएका विद्यालय तथा प्रधानाध्यापकलाई सम्मान सहित पुरस्कृत गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूको साझा संस्था पानले प्रथम अधिवेशनका अवसरमा काठमाडौंमा विशेष कार्यक्रमका बिच सर्वोत्कृष्ट विद्यालय र प्रधानाध्यापकलाई सम्मान गरेको हो ।
संस्थाले गण्डकी प्रदेशबाट उत्कृष्ट विद्यालयमा पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मावि, उत्कृष्ट प्रधानाध्यापकमा प्रकाश मावि बेनीका लेखबहादुर हमाल र उत्कृष्ट पालिकाको रूपमा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका छनोट भएका थिए । उनीहरूसहित सातवटै प्रदेशमा सर्वोत्कृष्ट भएकालाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, एमाले नेता प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता बद्री पाण्डे, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सम्मान गरे ।
गतवर्ष मात्र सामुदायिक विद्यालयतर्फ देशकै सर्वोत्कृष्ट पहिलो बनेको विन्ध्यवासिनी मावि लगातार उत्कृष्ट बन्दै रेकर्ड नै राख्न सफल भएको छ । सम्मानपछि विद्यालयका प्रअ कृष्णप्रसाद आर्चायले सबै पक्षको सहयोग र शैक्षिक तथा भौतिक विकासमा खेलेको भूमिकाले नै विद्यालय लगातार उत्कृष्ट बनेको बताए । उनले सम्मानले थप जिम्मेवार बनाएको बताए । पानका अध्यक्ष सूदनप्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
उत्कृष्ट विद्यालयको रूपमा सम्मानित भएको उक्त विद्यालयको अवलोकन र शैक्षिक गतिविधिको अध्ययन गर्न दैनिक जसो देशका बिभिन्न भागबाट विद्यालयको टोली आउने गरेको बताइएको छ । हालसम्म करिब ५ सय बढी विद्यालयवाट विद्यालयको अवलोकन तथा अध्ययनका लागि आएको विद्यालयका अप्रेसन म्यानेजर नवीन अधिकारीले जानकारी दिए ।
टोलीलाई विद्यालयले गरेका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले खेलेको भूमिका र शिक्षक कर्मचारीले गरेको मेहनतका विषयमा जानकारी दिने गरिएको छ । यसअघि उक्त विद्यालय कास्कीका विभिन्न संघसंस्थावाट समेत सम्मानित समेत भइसकेको छ ।
तपाईको प्रतिक्रिया