अमेरिकामा हुने कार्यक्रममा मदरल्यान्डका ४ विद्यार्थी

समाधान संवाददाता २०८१ जेठ ३१ गते २०:०६


पोखरा ।

Advertisement

अमेरिकाको वासिङ्टन डिसी र क्यान्सस सहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्यान्ड माविका ४ विद्यार्थी जान लागेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले अबिर र माला लगाएर बिदाइ गरिन् ।

मदरल्यान्डमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनका सुविज्ञा नेपाल र विज्ञान संकायका रबिना पौडेल अमेरिका जान लागेका हुन् । उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट भई छनोट भएका हुन् ।

नेपालभरबाट १६ जना छात्रा छनोट भएका छन् । उनीहरुले त्यहाँ विज्ञान, गणित, इन्जिनियरिङ र टेक्नोलोजीबारे नेतृत्वसम्बन्धी तालिम लिने छन् । उनीहरुले महिलाको नेतृत्व, वातावरणीय विकास, खाद्य सुरक्षा र संस्कृतिका बारेमा समुदायमा बसेर सिक्ने छन् । उनीहरु नेपाल फर्किएपछि पनि आफ्नो परियोजना अनुसार समुदायमा नै काम गर्ने छन् ।

विद्यार्थीहरुले २१ दिनसम्म अमेरिकामा रहेर अन्य देशका युवासँगै युवा नेतृत्व कार्यक्रममा सहभागिता जनाउने छन् । अमेरिकन सरकारको व्यवस्थापनमा उनीहरु देशकै प्रतिनिधित्व गर्दै जान लागेका हुन् ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशकी प्रमुख सचिव बस्नेतले विद्यार्थीलाई पढाइ र सिकाई सँगसँगै भए छिटो सिक्ने सक्ने बताइन् । उनले विद्यार्थीले अमेरिकामा सिकेका कुरा विद्यालयमा आएर अन्य साथीलाई पनि सिकाउदा अझ फलदायी हुने सुझाइन् ।


विद्यालयका प्रिन्सिपल नारायण बरालले विद्यालयले विद्यार्थीको चौतर्फीमा लागेको बताउँदै त्यसै अनुसार नै विद्यार्थी छनोट भएको जनाए । उनले स्कुलले पढाइसँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलाप आयोजना गरी विद्यार्थीको प्रतिभाको सर्वाङ्गीण विकासमा ध्यान दिएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया