वर्षभरिको सिकाइ ‘फुड फेस्टिबल’ मार्फत प्रस्तुत

पोखरा ।
वर्षभरिको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई बाहिर ल्याउने गरी गैहपाटनस्थित पश्चिमाञ्चल माविले शनिबार एकदिने फुड फेस्टिबल आयोजना गरेको छ । कक्षा ११ र १२ मा अध्यापन हुने होटल व्यवस्थापन विषयका विद्यार्थीको संयोजनमा विद्यालयले फुड फेस्टिबल आयोजना गरेको हो ।
फुड फेस्टिबलको शनिबार पोखरा पर्यटन परिषद् (पिसिटी)का अध्यक्ष पोमनारायण श्रेष्ठले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य सरोज कोइरालाले एकवर्षसम्मको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई एकैठाउँ प्रस्तुत गर्ने गरी फुड फेस्टिबल आयोजना गरेको बताए ।
‘विद्याथीले कक्षा कोठामा सैद्धान्तिक ज्ञान लिएका थिए । बेलाबेला होटल घुमघाम र स्कुलको प्रयोगशालामा प्रयोगात्मक अभ्यास पनि गरेका थिए,’ उनले भने, ‘तर, वर्षभरिको अनुभवलाई बास्तविक रुपमा देखाउने गरि पहिलो पटक यो कार्यक्रम आयोजना गरेका हौ । हामी किताबी ज्ञान मात्र दिन्नौ, वास्तविक अभ्यास पनि गराउँछौं ।’ आगामी दिनमा पनि विद्यालयले यस्तै कार्यक्रम गर्ने उनले बताए । होटल व्यवस्थापनकै विद्यार्थीले उक्त अवसरमा विभिन्न प्रकारका परिकार बनाएका थिए ।
प्रमुख अतिथि परिषद् अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रमा खानाको पनि महत्व रहेको बताए । उनले स्वादिलो खाना पस्किन नसके पर्यटनको महत्व हराउने बताए । ‘सबै पाहुनाले खानाको मिठो स्वाद खोजिरहेका हुन्छन । स्वस्थ र स्वादिलो खाना बिना पर्यटन सम्भव हुँदैन,’ उनले भने, ‘पाहुनाको सत्कारमा खानाको महत्व छ ।’ पोखरा पर्यटकीय राजधानी भएकोले पनि होटल व्यवस्थापन शिक्षाको अझै बढी महत्व रहेको उनले बताए ।
सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई एकैठाउँ प्रस्तुत गर्ने गरी पश्चिमाञ्चल माविमा फुड फेस्टिबल
पोखरामा होटल व्यवस्थापन अध्यापन हुने धेरै शैक्षिक संस्था भएपनि त्यहाँ उत्पादित शैक्षिक जनशक्ति अहिलेसम्म बिदेश पलायन हुने गरेकोले उनीहरुलाई रोक्न जरुरी रहेको अध्यक्ष श्रेष्ठले बताए । ‘होटल व्यवस्थाप अध्यापन गराउने शिक्षण संस्थासँग सहकार्य गरेर हामीले यहाँको जनशक्तिलाई स्वदेशमै रोक्ने पहल गर्नेछौं,’ उनले भने, ‘स्वदेशमै काम र दाम पाइने अवसर रहेकोले वेवास्ता गर्नु हुँदैन ।’ होटल व्यवस्थापनसँग रोजगारी र आम्दानीको पनि महत्व रहेको उनले बताए । ‘एकैजना सेफले पोखरामा लाखौं रुपैयाँ तलब पाउँछन । त्यसैले अब विदेश होइन, स्वदेशमै केही गर्नुपर्छ,’ उनले भने, ‘पढ्ने बित्तिकै लेकसाइडमै रोजगार पाइन्छ भन्ने सन्देश दिलाउन जरुरी छ ।’
विद्यालयकी सह प्राचार्य प्राचार्य मिनु श्रेष्ठ कुवरले फूड फेस्टिबलको सुरुवात भएको र आगामि वर्ष पनि यस्तै गतिविधि गर्ने बताईन । ‘वर्षभरी सिकेको सिकाईलाई वास्तविक रुपमा पस्कन सक्ने सक्षम विद्यार्थी तयार भएको यो कार्यक्रमले पुष्टि गरेको छ,’ उनले भनिन । विद्यालयका दश जोड दुइका संयोजक देव क्षेत्रीले प्लस टु मा सक्रिय विद्यार्थीको पहलमा यो कार्यक्रम भएको बताए । एक वर्षमा विद्यार्थीले केके सिके भन्ने देखाउने ठाँउ महोत्सव बनेको उनले बताए ।
पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले विद्यार्थीको वास्तविक ज्ञानको पुष्टि गर्नका लागि यस्तै थलो आवश्यक परेको बताए । ‘किताबी ज्ञानले मात्र पुग्दैन । अब त हामीले अतिरिक्त कोर्ष अध्यापन गराएर भएपनि विद्यार्थीलाई अब्बल बनाउने तयारी गरिरहेका छौ,’ उनले भने ।
विद्यालयका अतिरिक्त गतिविधिका संयोजक आत्मराम अधिकारीका अनुसार कार्यक्रममा खानासँगै विभिन्न खेल र मनोरञ्जनात्मक गतिविधि गरिएको बताए । विद्यालयमा ११ र १२ कक्षामा मानविकी, कानुन, व्यवस्थापन, होटल व्यवस्थापन विज्ञान विषयमा अध्यापन हुँदै आएकोमा आगामि शैक्षिक सत्रदेखि व्यवस्थापन अन्तरगत रहेर सौन्दर्य कलाको पनि अध्यापन हुँदैछ ।
तपाईको प्रतिक्रिया