‘समानान्तर गतिविधि रोक्न आवश्यक’

समाधान संवाददाता २०८१ असार २ गते १२:१९

पोखरा ।
नेकपा (एमाले) बुद्धिजीवी विशेष इलाका कमिटी कास्कीको दोस्रो अधिवेशन भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा ३१ सदस्यीय कमिटी निर्माण गरेको छ ।

Advertisement


पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अधिवेशन उद्घाटन गर्दै नेता तथा कार्यकर्तालाई विचारले प्रशिक्षित, एकीकृत र सुदृढ पार्टी बनाउन पेशागत तथा बुद्धिजीवीहरुको भूमिका हुने बताए । उनले जिल्ला तथा पालिका तहमा पार्टीको सर्वोच्च निकायका रुपमा रहेको अधिवेशनपछि बनेको नेतृत्वलाई सबैले मान्नुपर्ने उल्लेख गरे ।


‘स्थानीय सरकार र गण्डकी प्रदेश सरकारको अभ्यास सुरुवात भएपछि गाइजात्रा सुरु भयो,’ उनले भने, ‘पार्टीमा असभ्यता र गलत परिपाटीको विकास भएको छ । गुटबन्दी र समानान्तर गतिविधि रोक्नु पर्छ ।’ उनले प्रचण्डलाई पार्टी बुझाउने गरी काम भएको आरोप लगाए । विषय विज्ञता र पेशागत क्षेत्रको दक्षताको आधारमा पार्टीको जिम्मेवारीमा आउनु राम्रो भएको उल्लेख गर्दै उनले पेशाकर्मीको ट्रेड युनियन अधिकारलाई कसैले कुष्ठित गर्न नहुने तर्क गरे ।


एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले राजनीतिक परिवर्तन अनुरुप मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण आवश्यक भएको जनाए । पार्टीका पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यले सचेत र शिक्षित व्यक्तिले राजनीति गर्नुपर्ने चर्चा गरे । उनले कार्यकर्तालाई विचारले प्रशिक्षित गर्न इलाका कमिटीको भूमिका रहने बताए ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सचिव प्राडा कृष्णराज अधिकारीले विचारले प्रष्ट नभएको व्यक्ति पार्टीको सम्पत्ति बन्न नसक्ने तर्क गरे । आलोचनात्मक चेत भएको बुद्धिजीवीहरु पार्टीको एसमेन बन्न नहुने उल्लेख गर्दै उनले योग्य भन्दा इमान्दार व्यक्तिले सिक्ने राम्रो ढंगले काम गर्ने जानकारी दिए ।

Advertisement


पेशागत महासंघ नेपालका केन्द्रीय सचिव रामप्रसाद खनालले हरेक राजनीतिक परिवर्तनमा पेशाकर्मी र बुद्धिजीवीको भूमिका रहेको दाबी गरे । जुनसुकै निरंकुश शासन व्यवस्थाले पेशाकर्मी बुद्धिजीवीको ट्रेड युनियन अधिकार खोस्न नसकेको उदाहरण पेश गर्दै उनले कोही कसैको दबाब प्रभावबाट विचलित नभएर पेशागत दायित्व पूरा गर्न सुझाव दिए ।


प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए)का केन्द्रीय उपाध्यक्ष हरिप्रसाद सुवेदीले बुद्धिजीवीले आफ्नो मात्र नभएर अरुको गल्तीबाट सिक्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया