७ महिनादेखि अलपत्र तुलसीघाट पुल

प्रमिला कुँवर २०८१ असार ५ गते १०:३४

पोखरा ।
अचेल पोखराको चल्तीको व्यापारिक केन्द्र पृथ्वीचोकमा यातायातको लामो जाम हुन्छ । सहरको पूर्वी र पश्चिमी भेग जोड्ने गरी सेतीनदीमाथि पृथ्वीचोक (बसपार्क)मा पुल छ, तर वैकल्पिक बाटोहरू कम छन् । त्यही विकल्प हुनसक्थ्यो नयाँबजार र रानीपौवा क्षेत्र जोड्ने गरी सेतीनदीको तुलसीघाटमा निर्माणाधीन पुल । तर यो पुल निर्माण सुरु भएको ७ महिनादेखि अलपत्र छ ।

Advertisement


यसअघि नै तुलसीघाटमा पुल नभएको होइन । तर ३५ वर्षअघि निर्मित पुल साँघुरो र जीर्ण भएपछि नयाँ बनाउन थालिएको थियो । पुरानो पुलबाट अचेल गाडी आउजाउ गर्न नमिल्ने गरी दुवैछेउमा भत्काइएको छ । नयाँ पुलको जग पनि हालिसकिएको छ । तर नयाँ पुल निर्माण त्यत्तिमै अड्किएर अधिकल्चो भएको छ ।


पोखराको इन्द्रेणी निर्माण कम्पनीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको १२ करोड, ८० लाख रुपैयाँ लागतमा तुलसीघाटमा पुल निर्माणको ठेक्का पाएको हो । पुल निर्माणका लागि २०७९ पुसमा कम्पनीसँग सम्झौता गरिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सडक विभाग पुल सेक्टर पोखराका इन्जिनियर प्रतिभा शर्माले जानकारी दिइन् ।


६५ मिटर लामो र ११ मिटर चौडाइको ‘आर्कब्रिज’ निर्माण गर्न लागिएको शर्माले बताइन् । ‘सामान नपाएर हो काम अघि बढ्न नसकेको, सामानहरु लगभग सबै आइसकेको छ । बर्खामा काम गर्न सकिँदैन होला त्यसैले असोज कात्तिकभित्र निर्माण सम्पन्न हुन्छ,’ उनले भनिन् ।

सडकका संरचना भत्काएर महिनौंदेखि काम अलपत्र

Advertisement


योजना अनुसारभन्दा काम धेरै छिटो नै भएको उनले सुनाइन् । ‘सम्झौता मितिबाट म्याद ३० महिनाको रहन्छ,’ इन्जिनियर शर्माले भनिन्, ‘अहिले बल्ल आधा समयमात्र सकिएको छ । निर्माण कम्पनीलाई दबाब दिइरहेका छौं । निर्धारित समयभन्दा अघि नै निर्माण सक्ने योजना छ ।’


निर्माण सुरु भएको लामो समयसम्म पनि पुल नबन्दा नागरिकलाई आउजाउ गर्न निकै समस्या भइरहेको तुलसीघाटकी निशा गुरुङले बताइन् । ‘पुल नभएर हिँड्दै अप्ठेरो छ । ‘बालबालिकालाई विद्यालय आउजाउ गर्न अझ समस्या छ, पुल नहुँदा निकै दुःख पाइयो,’ उनले भनिन् । ‘समयमै निर्माण नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गरिनुपर्ने उनी बताउँछिन् । उनले भनिन्, ‘सम्झौता रद्द गरी अर्को कम्पनीलाई दिएर काम सक्नुपर्छ । नागरिकलाई निकै कष्ट भएको समस्या समाधानमा स्थानीय सरकारले पहल थाल्नुपर्छ ।’


निर्माणमा ठेकेदारले अत्यन्तै ढिलासुस्ती गरेको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी पनि बताउँछन् । सडकका संरचना भत्काएर महिनौंदेखि काम अलपत्र छोडेर समयमै निर्माण काम नहुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको उनले बताए ।


नागरिकहरू हरेक दिन गुनासा लिएर आउने गरेको वडाध्यक्ष मर्सानीले सुनाए । ‘गत वर्षअघिदेखि सुरु गरिएको काम आधा पनि भएको छैन । हाम्रोतर्फबाट सक्ने सहयोग गरेका हौं । संरचना भत्काउन हामीले नै सहयोग गरेका हौं,’ उनले भने, ‘वडाका तर्फबाट पटकपटक निर्माण तीब्र पार्न दबाव दिइरहेका छौँ, समय छ जसरी पनि समयभित्र सम्पन्न गरे भयो नि भन्ने जवाफ दिन्छ कम्पनीले ।’ काम अलपत्र हुँदा पुरानो पक्की पुलसमेत जोखिममा परेको उनले बताए ।


७ महिनामा ५० प्रतिशत भौतिक काम भएको निर्माण कम्पनी इन्द्रेणीका बलबहादुर रानाले जानकारी दिए । भारतबाट सामान ल्याउन ढिलाइ भए पनि अहिले काम जारी रहेको उनको भनाइ छ । हेटौंडामा ट्रस्टको काम भइरहेको तथा सामान तयार भएपछि २ महिनामा पुल निर्माण सम्पन्न हुने रानाको भनाइ छ । समयभन्दा अघि नै काम सम्पन्न गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।


‘पुलमा काम गरेको देखेको भए नागरिकलाई काम भइरहेको छ भन्ने हुन्थ्यो तर पुलको काम त उद्योगमा भइरहेको छ । जग र पिल्लर राखिसकेको छ । छिट्टै सक्ने गरी काम थालेका छौँ,’ उनले भने ।


तुलसीघाटको पुरानो पुल साविक पोखरा नगर पञ्चायतका तत्कालीन प्रधानपञ्च सीताराम केसीको पालामा २०४६ सालमा निर्माण भएको हो । चाइना इन्टरनेसलन वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन पोखराले १५ लाख रुपैयाँमा पुल निर्माण गरेको थियो । पुलको लम्बाइ १ सय २३ फिट र चौडाइ साढे ११ फिट छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया