ज्येष्ठ नागरिकको ज्ञान उपयोग गर्नुपर्छः सभामुख

समाधान संवाददाता २०८१ असार ८ गते १२:४६

पोखरा ।
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले ज्येष्ठ नागरिको ज्ञान, सीप र अनुभव उपयोग गर्नुपर्ने बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ केन्द्रीय समितिको आयोजना एवं महिला तथा वालवालिका मन्त्रालयको सहयोगमा पोखरामा शुक्रबार आयोजित ज्येष्ठ नागरिक संस्थाको अनुगमनमा सरोकारवालासँग भएको अन्तक्र्रियामा उनले सो कुरा बताएका हुन् ।

Advertisement


ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास भएको बताउँदै उनले उनीहरुको योगदानको उच्च कदर गर्दै सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रको ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए । राष्ट्रिय परिचय पत्रविना सामाजिक सुरक्षा भक्ता वितरण नगर्ने सरकारको निर्णयले ज्येष्ठ नागरिकले दुःख पाएको धारणा राख्दै सभामुख धितालले थपे, ‘घर घरमा पुगेर ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाउनु अपरिहार्य छ ।’


कार्यक्रममा हेप्पी हेल्पका संस्थापक डा यज्ञमान शाक्य, राधाकृष्ण वृद्धाश्रमका प्रेम लिगल, दलित महासंघका केन्द्रीय अध्यक्ष खरिलाल विश्वकर्मा, ज्येष्ठ नागरिक समिति पोखरा १७ अध्यक्ष टोपराज ढुंगाना, उपाध्यक्ष विष्णुमाया बास्तोला र समाजसेवी गिरा पन्त कोइरालालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।


राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक मोहनलाल श्रेष्ठले ज्येष्ठ नागरिकको संवैधानिक हकहित र सुविधाको प्रत्याभूति हुने गरी कार्यान्वयन गर्न सरकारसँग माग गरे । महासंघका महासचिव कुशुमकेशव पराजुली, आयुर्वेद चिकित्सक विपी रेग्मीले जेष्ठ नागरिकका हक अधिकारका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा सम्मानति व्यक्तित्व टोलपराज ढुंगाना, संघका गण्डकी प्रदेश अध्यक्ष उमान सिंह कार्की र जिल्ला अध्यक्ष केशव ढकाल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया