पोखरामा अनुभव बाँड्दै ख्यातिप्राप्त सेफ थापा

समाधान संवाददाता २०८१ असार १० गते १५:४८

पोखरा ।
नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहेका तनहुँका अर्जुनबहादुर थापाले आफ्ना अनुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई सुनाएका छन् ।

Advertisement


४ दशकदेखि सेफ पेसामा आवद्ध उनले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्‍याएका छन् । उनको सफलता र अनुभव यतिखेर नेपालमा होटेल व्यवस्थापनका कक्षा पढ्दै गरेका विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेका छन् ।


नेपाल सेफ एसोसिएसनका संस्थापक सदस्य एवं हाल इन्टरनेसनल नेप्लिज सेफ सोसाइटी युकेका अध्यक्षसमेत हुन् । उनले शुक्रबार पोखराको छिनेडाँडास्थित नेपाल टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेजमा आफ्ना अनुभव विद्यार्थीमाझ बाँडे ।


होटेल म्यानेजमेन्टको कक्षा लिइरहेका विद्यार्थीका लागि महत्वपूर्ण अवसरहरू रहेको उल्लेख गर्दै उनले उच्च मनोबलका साथ आफ्नो अध्ययनलाई अघि बढाउन आग्रह गरे । अध्ययनरत विषयमा दक्ष बन्न सकेमा अवसरमा कमी नहुने बताउँदै उनले आफू हाल अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा हाल उत्कृष्ट ५ सेफमा परी अब उत्कृष्ट ३ का लागि प्रतिस्पर्धामा रहेको जानकारी गराए ।


‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरूबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ ।

Advertisement

झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनोट हुँदै हाल पाँचौं उत्कृष्टमा पर्न सफल भएको सुनाउँदै उनले खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताए । उनले उत्कृष्ट पाँचबाट तीन हुँदै एकमा पुग्नका लागि आफूलाई अझै धेरै भोट र हौसला जरुरी रहेको औंल्याए । थापालाई उत्कृष्ट तीनका लागि अब ४ दिन जो कोहीले प्रत्येक २४ घण्टामा अनलाइन मार्फत एक पटक फ्रि भोटिङ गर्न पाउनेछन् ।

विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा प्रतियोगितामा विजयी बनेमा २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिनेछन् । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर पाउने छन् । बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खानाहरूमा समय बिताइसकेका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि प्राप्त गरिसकेका छन् ।


थापालाई नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेज छिनेडाँडामा स्वागत गर्दै क्याम्पस प्रमुख प्रकाश रेग्मीले उनका अनुभव र भोगाई अध्ययन गर्दै गरेका विद्यार्थीका लागि प्रेरक रहेको बताए । ११ र १२ कक्षाका साथै स्नातक तहमा ८०० जना विद्यार्थीलाई होटेल व्यवस्थापनको अध्ययनअध्यापन गराउँदै आएको क्याम्पसमा बिबिए, बिबिए–बिआईका कक्षा सञ्चालन भइरहेको उनले जानकारी दिए । स्थापनाको २५ औं वर्ष मनाउँदै गरेको क्याम्पसबाट हालसम्म उत्पादित जनशक्ति विश्वका ४८ वटा राष्ट्रमा पुगेको र कोही पनि बेराजगार नरहेको बताए ।


२६ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न पूर्वाधार एवं प्रयोगशाला सहितको क्याम्पसमा अध्ययन गरेका विद्यार्थीका लागि अमेरिका, कतार, थाइल्याण्ड, कुवेत लगायत १० वटा राष्ट्रका तारे होटेलहरूमा इन्टर्नसिप गर्न पाउने र उक्त अवसरमा सिक्दै कमाउँदै गर्ने गरी व्यवस्था मिलाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया