दूध उत्पादनमा गर्दै महिला सहकारी

समाधान संवाददाता २०८१ असार १२ गते १७:१३

पोखरा ।
महिलामात्रै सेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दूध उत्पादनमा लगानी विस्तार आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोटेचौतारा स्थित समग्र महिला बहुउद्देश्यीय सहकारी दूध उत्पादन योजना विस्तार गर्न लागेको हो ।


पोखरा १४ मै करिब १० रोपनी जग्गा भाडामा लिएर सहकारीले २० भैंसी र ५ गाई पाल्न लागेको सहकारीका अध्यक्ष सविना अधिकारी क्षेत्रीले जानकारी दिइन् । यो दूध उत्पादन योजनामा १ करोड लगानी हुनेछ ।


नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको स्वच्छ दूध उत्पादनका लागि व्यवसायिक गाईभैंसी पालन उपआयोजनाको ५० प्रतिशत अनुदानमा यो कार्यक्रम हुन लागेको सहकारीका व्यवस्थापन धर्मराज केसीले जानकारी दिए ।

Advertisement


यो उपआयोजना अन्तर्गत सहकारीले २५ जना व्यवसायिक कृषक सेयर सदस्यबाट ५० लाख र आयोजनाबाट ५० लाख रुपैयाँ संकलन गरी दूध उत्पादन गर्न लागिएको हो । पोखरा १४ कै कदम मार्गमा १० वर्षका लागि १० रोपनी जग्गा भाडामा लिएर दूध उत्पादन गरिने सहकारीकी सचिव ईन्दु अधिकारीले बताइन् ।

पोखरा १४ मा समग्र महिला सहकारीले वार्षिक ७२ हजार लिटर दूध उत्पादन गर्ने

Advertisement


सहकारीले वार्षिक ७२ हजार २ सय लिटर दूध उत्पादन गर्ने लक्ष्य लिएको छ । जसबाट ५४ लाख १५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । यसैगरी ४० हजार केजी कम्पोस्ट मल बिक्रीबाट २० हजार, बाच्छाबाच्छी बेचेर २० हजार र पाडापाडी बेचेर १ लाख ५४ हजार रुपैयाँ आम्दानी हुने अनुमान सहकारीको छ ।


उक्त जग्गामा गाईभैंसी पालनसँगै घाँस उत्पादन र ताजा तरकारी पनि उत्पादन गर्ने लक्ष्य लिइएको छ । सहकारीबाट सञ्चालित फर्मबाट ६ जनाले प्रत्पक्ष रोजगारी पाउनेछन् भने ३५ जनाले प्रत्यक्ष र ५ सय ७५ जनाले अप्रत्यक्ष लाभ लिनेछन् । सहकारीबाट उत्पादित दूध जिल्ला सहकारी संघ कास्कीले खरिद गर्ने भएको छ ।


सोही आयोजना सञ्चालन पूर्व सहकारीले एक सार्वजनिक सुनुवाई गरेको छ । कार्यक्रममा सहकारीका सेयर सदस्य तथा फार्म सञ्चालन गर्दा प्रभाव पर्ने स्थानका सरोकारवालाको सहभागिता रहेको छ ।


कार्यक्रममा वक्ताहरुले फार्म र अनुदानको निरन्तरता हुनपर्ने, कारोबार पारदर्शी हुनुपर्ने, उप आयोजनाले अन्य व्यक्तिलाई नकारात्मक असर पर्न नहुने लगायतका भनाइ राखे । सहकारीका सल्लाहकार तथा वडा नम्बर १४ का सदस्य तनुजा थापा सिकेले चौतारीमा बसेर बचत संकलन गरी सुरु भएको सहकारी अहिले १ करोडको आयोजना सञ्चालन गर्न सक्षम भएकोमा खुसी व्यक्त गरिन् ।


मन्त्रालयको ग्रामीण विकास तथा आर्थिक विकास आयोजनाका कृषि विज्ञ विष्णुदयाल सिंहले नेपाल कृषि तथा पशुलालनलाई प्रोत्साहन गर्ने नेपाल सरकारको नीति अनुसार सहकारीलाई सहयोग गरिएको बताए । उनले उक्त अनुदान रकम फार्मलाई ३ किस्तामा दिनेसमेत प्रष्ट्याए ।


उनले पशुधन खरिद गर्दा सार्वजनिक खरिद नियमावली अनुसार गर्न र अनिवार्य बिमासमेत गर्न सहकारीलाई सुझाव दिएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपक बास्तोलाले सहकारीले दूध खरिद गरी किसान र किसान समूहको दूध नबिक्ने चिन्ता अन्त्य गरिदिएको बताए । उनले नेपाली किसानले भोग्दै आएको मिल्क होलिडे अन्त्य गर्न जिल्ला सहकारी संघ सदैव लाग्ने वाचा गरे ।


मन्त्रालयको यो आयोजना नेपालका ३५ जिल्लाका १ सय ७१ पालिकामा सञ्चालित छ । कास्कीको पोखरा महानगरपालिका, मादी र रुपा गाउँपालिकामा यो आयोजना सञ्चालन भएको स्टार्टअप अनुदान सञ्चालन म्यानुअलमा उल्लेख छ । एसियन विकास बैंकको करिब १४ अर्ब २३ करोड ऋणमा यो योजना सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया