बेले छ्याब मोरोइमो तम्मै कोइ र

प्रमिला कुँवर २०८१ असार १२ गते १७:२४

पोखरा ।
पर्यटकीय सिजनमा घान्द्रुकमा पर्यटकको घुँइचो हुन्छ । तर पछिल्लो समय बाह्रै महिना पर्यटक घान्द्रुक पुग्छन् । घान्द्रुकको सुन्दरता, आँखै अघि देखिने दर्जनौ हिमाल, ग्रामीण मौलिकताले पर्यटकलाई आकर्षण गरेको छ ।


त्यसैमा थपिएको छ गुरुङ पोशाक । कतिपय पर्यटक गुरुङ समुदायको पहिरनमा सजिएर तस्बिर/भिडियो खिच्नकै लागि कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ मा पर्ने घान्द्रुक गाउँ उक्लिन्छन् । घान्द्रुक पुग्ने पर्यटककाे प्राथमिकतामै पर्छ गुरुङ पहिरन । गुरुङ समुदायमा मात्र सिमित रहेन अहिले गुरुङ पाेसाक लगाउने चलन ।


घान्द्रुकका अधिकांश होटल र होमस्टेका आँगनमा गुरुङ पोशाकमा सजिएका महिला, पुरुषहरु परम्परागत शैलीले बनेका घरको पिँढीमा मुस्कुराइरहेका फूलसँग बसेर पृष्ठभूमिमा हिमाललाई राखेर तस्बिर र भिडियो खिच्दै रमाइरहेका हुन्छन् ।

Advertisement


कम्मरमा निलो पटुकी, कटनको कालो लेहेंगा, रातो घलेक, गलामा मुगामाला, शिरमा शिरबन्दी र नाकमा बुलाकी लगाएर तस्बिर र भिडियो खिच्न तल्लिन थिइन् प्रतिमा ढकाल । पोखराकी ढकाललाई गुरुङ पोसाकले आकर्षित गरेर घान्द्रुक पुगेकी हुन् ।


सामाजिक सञ्जालमा गुरुङ पोसाक पहिरिएर फोटो भिडियो खिचेको देखेपछि घान्द्रुक आउन लालायित भएको परिवारसहित घान्द्रुक आएकी उनले बताइन् ।

Advertisement


‘मनमोहक ढुंगे गाउँ, नजिकबाट देखिने हिमाल यहाँको सुन्दर वातावरण देखेर खुसी लाग्यो,’ उनले भनिन्, ‘गुरुङ पोसाकमा सजिन पाउँदा नेपालीपन झल्किएको महसुस भयो साथै सँस्कृतिको महत्व झनै बढ्यो ।


उनी घान्द्रुक आएको भने पहिलो पटक होइन, १४ वर्ष अघि नयाँ पुलबाट हिँडेर उनी घान्द्रुक आएकी थिइन् । यत्रो वर्षमा घान्द्रुक धेरै परिवर्तनको भएको ढकालले अनुभव सुनाइन् ।

गुरुङ पहिरनमा सजिएर, ढुंगे घर, हिमाल देखिने गरि तस्बिर खिच्न पाउँदा दंग थिइन् ६८ वर्षीया राममाया केसी ।


‘बाटो बिग्रीएकाले आधा घण्टा हिडेर आएको हो, यति हिड्दा पनि गाह्रो भयो, पहिला आउँदा चार/पाँच घण्टाको उकालो बाटो पनि सजिलै काटिएको थियो,’ उनले एकै सासमा भनिन् । रिफ्रेसमेन्टका साथै गुरुङ सँस्कृति, भाषा, रहनसहनलाई बुझ्न घान्द्रुक सबैभन्दा राम्रो गन्तव्य भएको ढकालको ठम्याईं छ ।


गुरुङ पहिरनमा सजिएर, ढुंगे घर, हिमाल देखिने गरि तस्बिर खिच्न पाउँदा दंग थिइन् ६८ वर्षीया राममाया केसी । प्रतिमाकी हजुरआमा हुन् उनी । केसी सुन्दर देखिएकी थिइन् गुरुङ पहिरनमा। कति राम्री देखिएकी गुरुङ पहिरनमा लाई गुरुङ भाषामा बेले छ्याब मोरोइमो तम्मै कोइ र भन्छ ।

घान्द्रुक प्राकृतिक र संस्कृतिसँगै आथित्यतामा पनि धनि रहेको केसीले पाइन् । गुरुङ पहिरनमा सजिने रहरलाई उमेरले नछेक्ने उनको भनाइ छ। ‘उमेर बुढो भए पनि मन बुढो हुँदैन,’ उनी भन्छिन् ।


घान्द्रुकको चिसो हावा र पानीले पोखरा फर्किन मन नलागेको उनले सुनाइन् । ‘चिसो हावा पानी, शान्त र स्वच्छ वातावरण, कति फरक छ पोखरा र घान्द्रुक,’ केसीले भनिन्, घान्द्रुकका घर जस्तै घान्द्रुकवासीका मन पनि सुन्दर छ ।’


गुरुङ समुदायका महिलाले लगाउने मौलिक पहिरन शिरबन्दी, माला, चोली, घलेक, लेहेंगा र पुरुषले लगाउने टोपी, गलबन्दी, भांग्रा, स्टकोट, कछाड, गरगहना भाडामा दिने गरिएको छ । पहिरनको दुई सय रुपैयाँ भाडा लिने गरिएको छ ।


घान्द्रुकमा गुरुङ पोसाकले पर्यटक मात्र बढाएको छैन मौलिक पहिरन भाडामा दिने व्यवसाय पनि फस्टाएको छ । गुरुङ जातिको पहिरन लगाएर फोटो खिच्नेदेखि टिकटक, रिल बनाउनेका कारण परम्परागत पहिरन भाडामा दिने व्यवसाय फस्टाएको देवी थापामगरले बताइन् । भाडामा सांस्कृतिक पहिरन उपलब्ध गराउँदै आएकी घान्द्रुक १० का थापाले आधा घण्टाको दुई सय रुपैयाँ भाडा लिने गरेको जानकारी दिइन्  ।


पहिरन भाडा दिने व्यापारबाट दिनकाे एक/दुई हजारदेखि बढीमा दश/प्रन्ध हजार आम्दानी हुने गरेको उनले उल्लेख गरिन्  । ‘अहिले घुम्न आउने घटेका छन् तर दसैँ, तिहारका बेला धेरै पर्यटक घुम्न आउँदा अझ बढी आम्दानी हुन्छ,’ उनले भनिन् ।
मौलिक पहिरन घान्द्रुकको पहिचानको रुपमा स्थापित भइसकेको उनले बताइन् । मौलिक संस्कृतिको जर्गेना हुनुका साथै पहिरन भाडा दिएरै घर खर्च धान्ने आम्दानी हुने उनले बताइन् ।


‘अर्काे घरमा होमस्टे छ, हामीले ड्रेस मात्र राखेका छौं, बास बस्न आएका पाहुनालाई उता पठाउँछौ, गुरुङ ड्रेस लगाउन यता आउनुहुन्छ,’ थापाले भनिन्, ९/१० वर्ष भयो ड्रेस भाडामा दिने थालिएको, भाडामा दिन सहज छ, आम्दानी पनि राम्रो हुन्छ, पर्यटको इच्छा पनि पुरा हुने । एकपटक त एकैदिन ४४ जनाले लगाएका थिए ड्रेस ।


परम्परा, संस्कृतिसँग पहिचान र अस्तित्व जोडिने भएकाले यसलाई जोगाउनु पर्ने उनको तर्क छ । संस्कृति जोगाउन घान्द्रुकवासी सधैं तत्पर रहेको उनको भनाइ छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया