विद्यार्थीलाई जीवनोपयोगी शिक्षा

समाधान संवाददाता २०८१ असार १७ गते १०:४२

पोखरा ।
विद्यालयमा आधारित जीवन उपयोगी सीप शिक्षा कार्यक्रमबाट पोखरा महानगरपालिका क्षेत्रका ६० सामुदायिक विद्यालयका ५ हजार ६ सय ७६ विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

Advertisement

कक्षा ७ र ८ मा अध्ययनरत किशोर किशोरीलाई लक्षित गरी सञ्चालित शिक्षाका बारेमा १० हजार विद्यार्थीलाई जानकारी दिने काम भएको बाल हितकारी परियोजना नेपालका कार्यकारी निर्देशक ठाकुरप्रसाद चापागाईं ले जानकारी दिए ।


पोखरा महानगरपालिकाका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुसँगको कार्यक्रममा उनले शिक्षा कार्यक्रमले समेटेकामध्ये ५२ प्रतिशत छात्रा र ४८ प्रतिशत छात्र रहेको बताए । उनले महानगरले बनाएको स्थानीय पाठ्यक्रममा समेत सो शिक्षा कार्यक्रमलाई समावेश गरेको उल्लेख गरे ।


‘सन २०१७ देखि नमुनाको रुपमा विद्यालय र समुदायमा किशोर किशोरी स्वास्थ्य तथा समृद्धि परियोजनाको रुपमा सञ्चालित थियो,’ उनले भने, ‘सन् २०२२ देखि नयाँ रुपमा सञ्चालित परियोजनाले सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको छ ।’


संस्थाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरका ३० वडाका ६० सामुदायिक विद्यालयका ३२ प्रधानाध्यापक र ६४ शिक्षक समेटिएका छन् । जीवन उपयोगी सीप शिक्षा कार्यक्रमका संयोजक संगीता भण्डारीले १ हजार ६३ विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, शिक्षक अभिभावक संघ र २ हजार ४ सय ९१ सँग परामर्श तथा अन्तक्र्रिया गरेको जानकारी दिइन् ।

Advertisement


उनले ५ देखि १४ वर्षसम्म उमेर समूहका विद्यार्थीलाई किशोरावस्थामा आउने जोखिम तथा समस्या पहिचान गरी उचित निर्णय लिन सक्षम बनाउने उद्देश्यले शिक्षा कार्यक्रम चलाएको बताइन् । हरेक हप्ता कक्षा सञ्चालन (५८ सेसन) हुने शिक्षा कार्यक्रम कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सञ्चालन गर्नुपर्ने माग आएको उनले उल्लेख गरिन् ।


महानगरका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्रीनाथ सुवेदीले पोखरा महागरपालिकाले सदाचार, शिष्टाचार, आत्म विश्वास, सञ्चार सीप, अनुशासन, निर्णय क्षमता लगायत १० विषयलाई समेटेर जीवन उपयोगी सीप शिक्षाको पाठ्यक्रम बनाएर लागु गरेको जानकारी दिए । उनले परियोजनाले उठाएका मुल विषयलाई पाठ्यक्रममा समावेश गरिएको बताए ।


जीवन उपयोगी सीप शिक्षाका असल अभ्यासलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उनले परियोजना अन्तर्गत प्रशिक्षित शिक्षकले शिक्षण सीप र सिकाईलाई अरु विद्यालयमा समेत विस्तार गर्नुपर्ने सुझाव दिए ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले सामाजिक संघ, संस्थासँगको समन्वय र सहकार्यमा महानगरले शिक्षाको सुधारको क्षेत्रमा काम गरेको बताइन् ।

जीवन उपयोगी सीप शिक्षा कार्यक्रमले धेरै किशोर किशोरीको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै उनले सफल परियोजनाको निरन्तरता आवश्यक भएको जानकारी दिइन् । महानरपालिकाका सामाजिक महाशाखाका निर्देशक निर्मला शर्माले बाल मैत्री पोखरा महानगर बनाउनको लागि सहकार्य गर्न संस्थासँग प्रस्ताव गरिन् ।


शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले विद्यार्थीलाई जीवन उपयोगी सीप शिक्षा दिन सके देशको मुहार फेर्न सकिने बताए । जीवन उपयोगी सीप शिक्षामा संस्कृति, मूल्य, मान्यता र क्षमता विकासका विषय पर्ने उल्लेख गर्दै उनले स्थानीय तहले पाठ्यक्रममा समावेश गर्दा निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले सामाजिक संघ, संस्थाले सुरुवात गरेको विषयलाई दिगो रुपमा व्यवस्थापन र कार्यान्वयन गर्ने दायित्व विद्यालय र प्रधानाध्यापक भएको उल्लेख गरे ।


कार्यक्रममा दातृ निकाय किडासाका जीवन उपयोगी सीप शिक्षा परियोजनाका व्यवस्थापक सञ्जय आत्रेय, संस्थाका अध्यक्ष रामचन्द्र शर्मा, लक्ष्मी आदर्श माविका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछाने, शुक्रराज मावि पोखरा २२ का प्रधानाध्यापक नरनारायण बराल, सरस्वती आधारभूत विद्यालय पोखरा १२ का प्रधानाध्यापक रुद्रबहादुर रानाभाट, बाल हितकारी परियोजना नेपालका कर्मचारी संगीता कोइराला लगायतले जीवन उपयोगी सीप शिक्षाका बारेका बोलेका थिए ।

तपाईको प्रतिक्रिया