पोखरा विश्वविद्यालयमा तालबन्दी, परीक्षासमेत प्रभावित

पोखरा ।
पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालीन करार प्राध्यापकहरु आइतबारदेखि अध्यापन छाडेर केन्द्रीय कार्यालयको ढोकामा धर्नामा बसेका छन् ।
यता, नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आफ्ना विभिन्न माग पूरा नभएको भन्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको २४ औँ सभाले करार प्राध्यापकको सेवा अवधि नथपी नयाँ विज्ञापनमा जाने निर्णय गरेको थियो ।
विश्वविद्यालयले लामो समयसम्म सेवा आयोगको विज्ञापन खोलेको छैन । धर्नामा सहभागी करार प्राध्यापक प्रकाश थापाले करारको स्थानमा करारमै राख्ने विज्ञापनको औचित्य नहुने दाबी गरे । “करारको ठाउँमा अर्काे करार सेवाको विज्ञापन किन चाहियो ?,” उनको प्रश्न छ ।
हाल विश्वविद्यालयमा पूर्णकालीन करार प्राध्यापक तथा प्राविधिक गरी ७१ जना सेवारत छन् । स्थायी सेवामा रहेका प्राध्यापकहरु पदाधिकारी बन्नका लागि तथा पिएचडी अध्ययन गर्नका लागि बिदामा बसेपछि विश्वविद्यालयमा करार र स्थायी प्राध्यापकको करिब बराबरी छ ।
शुक्रबार करार प्राध्यापकहरुले उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, डिन कार्यालय, परीक्षा नियन्त्रकको कार्यकक्ष, सबै स्कुल निर्देशकहरुका कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कुल प्रशासन कार्यालय तालाबन्दीको गरेका थिए ।
करार प्राध्यापकहरुको पेन डाउनका कारण स्कुल अफ इन्जिनियरिङको आन्तरिक परीक्षासमेत स्थगित भएको छ । आन्तरिक परीक्षामा करार प्राध्यापकहरुले प्रश्नपत्र बनाउन तथा निरीक्षकका रुपमा काम इन्कार गरेपछि परीक्षा सञ्चालन गर्न नसकिएको आन्तरिक परीक्षा संयोजक अनिलमणि भण्डारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया