चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै ओली, शपथ ग्रहण भोलि

समाधान संवाददाता २०८१ असार ३० गते १०:३९

काठमाडौं ।
प्रधानमन्त्री दाबी गरेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियुक्ति पाउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गर्ने भएका हुन् । ओलीले प्रधानमन्त्रीका लागि शुक्रबार दाबी पेश गरेका थिए । नेपाली कांग्रेस लगायत दलको समर्थनमा ओलीले शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा दाबी पेश गरेका थिए ।

Advertisement

चौथो पटक प्रधानमन्त्री बन्न लागेका ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । स्रोतका अनुसार ओलीले सोमबार ११ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।

रास्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल अनुसार राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने छ ।


प्रधानमन्त्रीमा ओलीको नियुक्ति र शपथग्रहणसँगसँगै ओलीले संक्षिप्त मन्त्रिपरिषद पनि गठन गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेका थिए । राष्ट्रपतिले असार ३० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएकै दिन राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।


प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस र एमालेले असार १७ गते आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो । कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भने शुक्रबार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर खुमलटार सरेका छन् ।

Advertisement

राष्ट्रपति पौडेलले सरकार निर्माणका लागि ३ दिनको समयसीमा तोकेर दाबी पेस गर्न आह्वान गरेपछि कांग्रेस र एमालेका बहुमत सांसदको हस्ताक्षरसहित ओली सहयोगी दलका नेतासहित प्रधानमन्त्रीको दाबी पेस गर्न सवा ९ बजे शीतल निवास पुगेका गरेका थिए ।

तपाईको प्रतिक्रिया