पोखरा विश्वविद्यालय २८ वर्षमा

समाधान संवाददाता २०८१ साउन ३ गते ५:४८

पोखरा । पोखरा विश्वविद्यालय(पियु) बुधबारबाट २८ वर्षमा प्रवेश गरेको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ अनुसार २०५४ साल श्रावण १ गते विश्वविद्यालयस्थापना भएको हो । विश्वविद्यालयको २८ औं वर्षगाँठको अवसरमा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम भएको छ ।

Advertisement

कार्यक्रमलाई विश्वविद्यालय उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयमा २५ वर्ष सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदकसहित सम्मान गरे । दीर्घ सेवा पदक पाउने शिक्षक तथा कर्मचारीलाई सुनचाँदीलाई टकमरी बनाइएको दीर्घ सेवा पदक, सम्मानपत्र र दोसल्ला दिइएको छ ।

पदक पाउनेमा प्राध्यापक हरिबहादुर खड्का, सहप्रशासकहरू यादव थापा, गोवर्धन भट्टराई, हेमन्तराज कण्डेल, टोलमाया थापा तथा उपप्रशासकहरू सीतादेवी ढकाल, लोकप्रसाद ढकाल, शंकर पौडेल, सहायक प्रशासक बाबुराम अर्याल, मुख्य सहायक बिमल कार्की, सवारी चालकहरू विष्णुराज गिरी र सुरेन्द्रमान बज्राचार्य एवं कार्यालय सहयोगीहरू चन्द्रसुवा गुरूङ, चन्द्रकुमारी चेम्जोङ, जीवनाथ फुयल र सन्तोषी गिरी छन् ।

कार्यक्रममा उपकुलपति अर्यालले विश्वविद्यालय एउटाको सोच र चिन्तनले मात्र अगाडि नबढ्ने भन्दै यसको सुधारका लागि सामूहिक दायित्व र कर्तव्यमा जोड दिए । विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले पैसाको अभावमा पोखरा विश्वविद्यालयको विकास नरोकिएको उल्लेख गर्दै यहाँ काम गर्ने केहीको नकारात्मक सोच र शैलीले विश्वविद्यालयले अपेक्षित गति लिन नसकेको टिप्पणी गरे । रजिष्टार भण्डारीले विश्वविद्यालय एउटा सिस्टममा चल्ने बताउँदै विद्यार्थीलाई आकर्षित गर्न शिक्षकहरू राम्रो र दक्ष हुनुपर्नेमा जोड दिए ।

मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सहप्रा डा अजय थापाले विश्वविद्यालयले ५ वर्षदेखि अन्य विश्वविद्यालयसरह विद्यार्थी पलायन जस्तो विशिष्ट खालको चुनौती सामना गर्नुपरेको सुनाए । विज्ञान तथा प्रविधि संकायका डिन प्रा राजेशकुमार ठगुराठीले नराम्रो कामका लागि ऊर्जा खेर फाल्नुभन्दा सकारात्मक सोचका साथ काम गर्न आग्रह गरे ।

Advertisement

विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सहप्रा डा उमेशसिंह यादवले विश्वविद्यालयमा कोही कसैले आस्थाको राजनीति मुखुण्डो ओढेर त्यसको पक्षमा काम गर्न नहुने उल्लेख गरे । स्कुल अफ इन्जिनियरिङका स्कुल निर्देशक डा ओमप्रकाश गिरीले परिवर्तन अरूबाट नभई आफूबाटै सुरू गर्नुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सहप्रा डा दीपेन्द्रकुमार यादवले विश्वविद्यालयको वर्तमान नेतृत्वको अथक प्रयासले नयाँ भवनहरू बनेको, विभिन्न परियोजना सञ्चालन भएको र अस्पताल सञ्चालन गर्न सकिएको उल्लेख गरे । विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य योगराज लामिछानेले विश्वविद्यालयका नियुक्तिहरू राजनीतिक भागबण्डाका आधारमा हुन नहुनेमा जोड दिए ।

विश्वविद्यालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्राडा दीपकराज पौडेल, व्यवस्थापन संकायका डिन सहप्रा डा दयाराज ढकाल, स्वास्थ्य विज्ञान सङ्कायका डिन सहप्रा डा अमर नागिला, प्राध्यापक संघका सभापति सहप्रा डा निरञ्जन श्रेष्ठ, प्रा हरिबहादुर खड्का, सह–प्रशासकहरु यादव थापा, तेजनारायण पराजुली र टोलमाया थापा, कर्मचारी संघका अध्यक्ष सहायक प्रशासक चोलाकान्त च्वाई र सहप्रशासक तारादेवी सापकोटाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया