श्रदाञ्जली :आनन्द सुवेदी २०२३/८/२८—२०८१/४/१५

कान्छा स्ववियु सदस्य, कान्छा कैदी

समाधान संवाददाता २०८१ साउन १५ गते २०:४१

पोखरा

Advertisement

२०४३ सालमा पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य हुँदा आनन्द सुवेदी २० वर्षका थिए । स्ववियुमा उनी कान्छा सदस्यका रुपमा चिनिन्थे । त्यही वर्ष हो उनी पञ्चायत विरोधी आन्दोलनमा लागेर पक्राउ परेको । कास्की कारागारमा पनि उनी कान्छो कैदीकै रुपमा चिनिएको पोखरामा मेयर धनराज आचार्य सम्झन्छन् । तिनै सुवेदीले औसत आयु पनि नबाँची मंगलबार संसार छाडेका छन् ।


ब्रेन ह्यामरेज भएपछि सुवेदीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को लमजुङस्थित भुजुङमा कार्यरत सुवेदी अप्ठेरो महसुस गर्दै साउन ८ गते कार्यालयको कामकै सिलसिलामा आरामका लागि आवास गएका थिए । सहकर्मीहरुले उनलाई आवासमा साँझ ६ बजे खाटबाट लडेर भुइँमा पल्टिएको भेटेपछि पोखरा ल्याइएको थियो । मणिपालमा उनको अप्रेसनसमेत भएको थियो । तर उपचारकै क्रममा मंगलबार उनले अन्तिम सास फेरे । पोखराको सेतीनदीको रामघाटमा सुवेदीको अन्त्येष्टि भएको छ । कान्छा छोरा अनुपले बुवा आनन्दलाई मुखाग्नि दिए । नेकपा एमाले स्थायी कमिटी सदस्यद्वय खगराज अधिकारी र किरण गुरुङ लगायत नेताहरुले स्वर्गीय सुवेदीको पार्थिव शरीरमा नेकपा एमालेको झण्डा ओढाए ।


२०२३ सालको मंसिर २८ गते जन्मिएका आनन्द सानै उमेरदेखि राजनीतिमा लागेका थिए । १७ वर्षको उमेरमा स्कुलबाट अनेरास्ववियुमा आवद्ध भएका उनी पछि अनेरास्ववियुको केन्द्रीय सदस्य पनि भए । सोही जिम्मेवारीमा रहेर लमजुङमा उनले संगठन विस्तार गरेका थिए ।


पृथ्वीनारायण क्याम्पस पढ्दा तुलबहादुर गुरुङ र हितकाजी गुरुङको प्रभावबाट अनेरास्ववियुमा सक्रिएका बढाएका उनी सानै उमेरमा स्ववियु सदस्य बनेका थिए । ४३ सालमा स्ववियु सदस्य बनेका उनी पञ्चायतविरोधी आन्दोलनमा लागेर २६ महिना जेल परेका थिए ।

Advertisement


उनी २०५४ सालको स्थानीय निर्वाचनमा कास्कीको साविक भाचोक गाउँ विकास समितिको अध्यक्ष निर्वाचित भए । त्यसअघि नै एमाले कास्कीको जिल्ला कमिटी सदस्य भइसकेका उनी गाविस अध्यक्षको जिम्मेवारी सकिएपछि पार्टी राजनीतिमै सक्रिय रहे । उनीभन्दा पछि राजनीति गरेकाहरु राजकीय जिम्मेवारीमा पुगिसकेका थिए । उनले भने ठूलो पद र जिम्मेवारी ताकेनन् । पाउनुपर्ने अवसर नपाउँदा पनि असन्तुष्ट बनेनन् । पार्टीमा सक्रियता छाडेनन् । पछि पार्टीको प्रदेश कमिटी सदस्य पनि भए ।


राजनीतिलाई एकातिर राखेर सुवेदी पछिल्लो समय अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जागिरे भएका थिए । तर त्यहाँ पनि उनी कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन महासंघको अध्यक्ष भएका थिए । ‘ऊसँगैका र धेरै पछि पनि मन्त्रीसम्म भए, तर आर्थिक कारणले आनन्द जागिरमा लाग्नुप¥यो र पार्टीको औपचारिक फोरममा उपस्थित हुन पाएन,’ उनी निकट एक नेताले भने, ‘गण्डकीमा गर्विलो नेता, व्यक्तित्व भएको नेता थियो ऊ ।’

तपाईको प्रतिक्रिया