पाण्डे सरकारका निर्णयप्रति एमालेको असन्तुष्टि

समाधान संवाददाता २०८१ साउन १६ गते १९:४४

पोखरा ।
संघीय सरकारमा एमाले र कांग्रेसको साझेदारीमा सरकार बनिसकेपछि प्रदेशहरुमा पनि त्यही गठबन्धनका सरकार बनिरहेका छन् । गण्डकीमा भने कांग्रेस नेतृत्वकै सरकार छ र साविक झै एमाले प्रतिपक्षमै बसिरहेको छ । एमालेले पनि गण्डकीमा सत्ता साझेदारी गर्ने पक्का भए पछि त्यसको गृहकार्यसमेत भएको देखिन्न ।

Advertisement


निकट भविष्यमै सरकारमा सामेल हुने निश्चित भएको र संघीय सत्ताको प्रमुख साझेदार भएको हुँदा प्रदेश सरकारले गर्ने निर्णयमा अहिल्यैदेखि एमालेसँग पनि सहमति हुनुपर्ने विचार राजनीतिक वृत्तमा चल्दै आएको थियो । एमाले गण्डकी प्रदेश कमिटीले सोही प्रकारको धारणा सार्वजनिक गरेको छ ।


गण्डकी प्रदेशको सरकारमा नेकपा (एमाले) को संलग्नता नभई दीर्घकालीन असर पुग्ने निर्णय गरिएको भन्दै एमालेले गण्डकीले ध्यानाकर्षण गरेको छ । एमाले गण्डकी सचिव धनञ्जय दवाडीले बुधबार विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका छन् । ‘दुई दलका वीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालित हुने हुँदा सहमति विपरीत दिर्घकालीन असर पर्ने निर्णय नलिन गण्डकी प्रदेश सरकारलाई नेकपा (एमाले) आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।


एमालेसँग संघीय सत्ता साझेदारी गरिसकेपछि पनि गण्डकीमा कांग्रेस नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारले धमाधम नियुक्तिहरू गरिरहेको छ । योजना आयोगमा राप्रपालाई समेत भाग दिएको छ । जब कि ऊ एमाले—कांग्रेस सत्ता गठबन्धनको विरुद्धमा छ । आयोगमै पाण्डेले नेपाल समाजवादी पार्टीलाई कोटा दिएर सदस्य नियुक्त गरिसकेका छन् ।


प्रेस रजिस्ट्रार नियुक्तिको प्रक्रिया पनि पाण्डे सरकारले अघि बढाइसकेको छ । सञ्चार जगतसँग सम्बन्धित विषय र त्यसमा पत्रकारिता क्षेत्रको व्यावसायिक व्यक्तिको नियुक्तिको सट्टा ‘पत्रकार कम खाँटी कार्यकर्ता बढी’लाई नियुक्ति गर्ने तयारी सरकारले गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस रजिस्ट्रार नियुक्तिका लागि समिति गठन गरेका छन् । अर्थमन्त्री डा टकराज गुरुङको संयोजकत्वमा गठित समितिमा विज्ञ सदस्य अग्रज पत्रकार रवीन्द्र बास्तोला छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव केशवराज ढकाल सदस्य सचिव छन् ।

Advertisement


गण्डकी प्रदेश सरकारले गोरखाको मनकामना मन्दिर क्षेत्र विकास समिति गठनादेश बनाएर समिति अध्यक्ष नियुक्त गरेको छ । गठनादेश यसअघि नै मन्त्रिपरिषद्ले पारित गरेको भए पनि बुधबार बसेको बैठकले अध्यक्ष नियुक्त गरेको हो । सहिद लखन गाउँपालिका ३ का काजीबाबु श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया