सिद्धि सेतुली प्रतिष्ठानको सभा

समाधान संवाददाता २०८१ साउन २८ गते १४:४१

पोखरा ।
सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराको १८ औं वार्षिक साधारणसभा शनिबार भएको छ । सभामा सम्मानित ज्येष्ठ सदस्य प्रेमप्रसाद अधिकारीले संस्था बालिग भएको भन्दै अझ जिम्मेवार भएर जनउपयोगी कार्य गर्न सुझाव दिए ।

Advertisement


सभाले सचिव ईन्द्रकमल मानन्धरले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोविन्द ताम्राकारले प्रस्तुत गरेको आय व्यय विवरणसहित प्रतिष्ठानलाई समसामयिक बनाउन प्रस्ताव गरिएको विधान संशोधन सर्वसम्मत पारित गरेको छ ।


साधारणसभामा संस्थापक संरक्षक विश्वरत्न शाक्यले यो सामाजिक संस्था भएकाले यसले बालबालिका, महिला र ज्येष्ठ नागरिकको क्षेत्रमा निशर्त र निस्वार्थ रुपमा आफ्नै ढंगले कार्य गरिरहेको बताए । उनले युवाको नेतृत्व र सामूहिक पहलमा प्रतिष्ठानले थप संस्थागत स्वरुप र उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।


प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव लोकदर्शन कोइराला, नागरिक समाज कास्की संयोजक नरेन्द्रमान लालचन, विशिष्ट सदस्य डा अनिल सुवेदी, दुर्गा केसी थापा लगायतले बोलेका थिए ।


प्रतिष्ठानले छात्रवृत्ति वितरणका लागि १ करोडको मुद्दति खाता खोली अक्षय कोष स्थापना गरेको छ । कक्षा १ देखि १० सम्मका १ सय ८ विद्यार्थीलाई शैक्षिक सामग्री तथा कक्षा ११ र १२ का ४६ विद्यार्थीलाई नगद छात्रवृत्ति भदौ १७ गते वितरण गरिने प्रतिष्ठानका संस्थापक संरक्षक शाक्यले जनाए ।

Advertisement

प्रतिष्ठानले विभिन्न मापदण्डका आधारमा छानिएका सामुदायिक विद्यालयहरु कन्या मावि नदीपुर, कन्या क्याम्पस नदीपुर, ज्ञानभूमि आधारभूत विद्यालय, महेन्द्र मावि, नयाँबजार, नवप्रभात सेकेन्डरी स्कूल, कुँडहर आधारभूत विद्यालय, अमरसिंह मावि, सिर्जना बहिरा माध्यमिक विद्यालय लेखनाथ, सिद्धार्थ आधारभूत विद्यालय आर्वा र बाल मन्दिर नदीपुरमा अध्ययनरत अपांगता, दलित, अल्पसंख्यकसहित जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।


मापदण्ड पूरा गरेका विद्यार्थीले आवश्यक कागजात र विद्यालयको सिफारिससहित प्रतिष्ठानमा आवेदन दिएपछि छात्रवृत्तिका लागि नाम छनोट गरिने प्रतिष्ठानका सचिव ईन्द्रकमल मानन्धरले बताए । छात्रवृत्ति छात्र र छात्राको अनुपात बराबर गरिने र एक पटक छानिएका विद्यार्थीलाई विद्यालय छोडे वा अन्तिम परीक्षामा अनुत्तीर्ण भएको अवस्थाबाहेक सो विद्यालयमा कक्षा १२ सम्म अध्ययन गरिञ्जेल निरन्तर छात्रबृत्ति सुविधा प्रदान गरिने प्रतिष्ठानकी उपाध्यक्ष प्रमिला तझ्याले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया