मेयर आचार्य र बराल एसको सचिव उम्मेदवार

पोखरा ।
डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको नेकपा एसले बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न मंगलबार मतदान गरेको छ ।
खुला सचिवतर्फ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उम्मेदवारी दिएका छन् । ५ जना खुला सचिवका लागि २६ जनाको उम्मेदवारी परेको छ । पोखराका अर्का नेता श्रीनाथ बरालले पनि सचिवमा उम्मेदवारी दिएका छन् । मेयर आचार्यले पोलिटब्युरो सदस्यमा पनि उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भइसकेका छन् । घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । महिला उपाध्यक्ष एक पदका लागि जयन्तीदेवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । मधेसी समुदायको उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।
खुला चार उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । चार उपमहासचिव पदमा लक्ष्मण केसीलगायत २० जनाको उम्मेदवारी परेको छ । नेकपा एसमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ ।
केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कुरामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको विरोध थियो । पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमतिमा टुंग्याउन अध्यक्ष नेपाललाई पनि सकस परेको थियो । अन्ततः उनी पनि मतदानमा जान तयार भएका हुन् ।
तपाईको प्रतिक्रिया