कहीँ नभएको जात्रा गण्डकीमा : सञ्चारमन्त्री गुरुङ

पोखरा ।
नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशमा नेपाली काँग्रेसले अराजनीतिक अडान लिइरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी कास्कीले शनिवार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले सङ्घीय गठबन्धनकै मर्मबमोजिम गण्डकीमा सरकार पुनर्गठन हुनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका गुरुङले भने, “मुख्यमन्त्रीले गठबन्धनको संस्कार र राजनीतिक इमानदारी देखाउनुपर्छ । उहाँले अराजनीतिक कुरा गरिरहनुभएको छ, यो उहाँको निजी शासन त होइन ।” गण्डकीमा एमालेबाहेक नै बहुमतमा रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र र नेपाल समाजवादी पार्टीबाट मन्त्री बनेकाहरूलाई यथावत् राख्न चाहेकोतर्फ सङ्केत गर्दै उनले यस्तो उल्लेख गरेका हुन् ।
मुख्यमन्त्रीले स्वतन्त्र र नेपाल समाजवादी पार्टीबाट मन्त्री बनेकाहरूलाई हटाउन नचाहेमा आफ्नै कोटाबाट राख्नुपर्नेमा उनको जोड छ । सरकारका प्रवक्ता गुरुङले यही वर्षभित्र सङ्घीय प्रहरी ऐन र सङ्घीय निजामती ऐन ल्याउन सरकारले पहल गरिरहेको जनाउनुभयो । “यी ऐन आएमा सङ्घीयता धेरै हदसम्म कार्यान्वयन हुन्छ,” उहाँले भन्नुभयो ।
अहिलेको सत्ता गठबन्धन आगामी आम चुनावसम्म चल्ने दाबी गर्दै उहाँले नेपाली समाज र पत्रकारिता जगत् नकारात्मक पक्षमा बढी रमाएको औँल्याए । “टिआरसी पास भो, ऐतिहासिकबारे कसैले लेखेन,” उनले भने, “हामी भारत वर्षमा छौँ, महाभारत हामीलाई मन पर्छ । लडाइँ, झगडा मन पराउने संस्कार बस्यो नि ।”
सेक्युरिटी प्रेस सञ्चालन गरी एक वर्षभित्रै पासपोर्ट, सवारी चालक अनुमति पत्र, अन्तःशुल्क स्टिकर आदि छपाइ गर्ने प्रयत्नमा सरकार रहेको उनको भनाइ छ । “यी काम यही एक वर्षभित्र गर्न सक्छु भनेको छु । बैंक नोट पनि देशमै छपाइ गर्नुपर्छ,” मन्त्री गुरुङले भने। यही आर्थिक वर्षभित्र देशैभर फोर जी र मुख्य सहरहरूमा फाइभ जी पुर्याउने सञ्चार मन्त्रालयको योजना छ ।
मन्त्री गुरुङले नेपालको प्रवर्धन र पर्यटनको विकासका लागि अङ्ग्रेजी च्यानल चलाउनुपर्नेमा जोड दिए । उले भने, “संसारभरका सबै देशले यसरी च्यानल चलाएका छन् । हामीले पनि एन टिभी वर्ड चलाउनैपर्छ । देशको पर्यटन प्रवर्धन र गौरवका लागि यो जरुरी छ ।”
तपाईको प्रतिक्रिया