तिज गीतले पाठ्यक्रम परिमार्जन गर भनेका छन् : शिक्षामन्त्री

पोखरा ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अहिलेका तिज गीतहरूमा वर्तमानका समस्या र जनजीवनको गहिरो चित्रण रहेको बताउनुभएको छ।एकाधबाहेक सबैजसो तिज गीतले महिलासहित समग्र नेपाली समाज र देशका समस्या उजागर गरेको उनको भनाइ छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ ले हरितालिका तिजको सन्दर्भमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले भनिन्, “हाम्रा समस्या सुल्झाउन यी गीतले पनि अप्रत्यक्ष रूपमा पाठ्यक्रम परिमार्जन गर भनेका छन् ।” शिक्षामन्त्री भट्टराईले अहिलेको परीक्षा प्रणालीका समस्या पहिचान गरी समाधानका उपाय खोज्न मन्त्रालय केन्द्रित रहेको उल्लेख गरिन् ।
आधा विद्यार्थी अनुत्तीर्ण हुने शिक्षण पद्धति र परीक्षा प्रणालीमा परिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिइन्।मन्त्री भट्टराईले भनिन्, “परीक्षा प्रणालीको पुनमूल्यांकन जरुरी छ। केही योजना बनिसकेका छन् ।” विश्वविद्यालयहरुले पाठ्यक्रम बनाउँदा सरोकारवालासँग सहकार्य गर्नुपर्ने र आवश्यकताअनुसारका जनशक्ति तयार पार्नुपर्ने उनले औँल्याइन् ।
परम्पराको रक्षा, संस्कृति संवर्द्धन गर्दै उद्यमशील हुनुपर्ने सन्देश दिने गीतले नेपाल र नेपालीको समृद्धिमा योगदान गर्ने मन्त्री भट्टराईले बताइन् । शिक्षित जनशक्तिलाई व्यक्तित्व विकाससँगै समाज र राज्यका लागि पनि योगदान गर्नुपर्छ भन्ने मनन गर्न उनले अनुरोध गरिन् ।
पोखरा–१७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले पुराना गाथा, कथा सुनाउने तीज गीतमा अहिलेको जनजीवन र समाज आउनु सकारात्मक परिवर्तन भएको उल्लेख गरिन् । उनले महिला सशक्तीकरण र संस्कृति संरक्षणलाई सँगसँगै लैजान यस खालका कार्यक्रम गर्दै आएको जनाइन् ।
तपाईको प्रतिक्रिया