मुख्यमन्त्री पाण्डेको अडान अराजनीतिकः पृथ्वीसुब्बा

पोखरा ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एव् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अराजनीतिक अडान लिइरहेको टिप्पणी गरेका छन् । गण्डकीमा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री पाण्डेको अडानका कारण संघमा गठबन्धन फेरिएको २ महिना हुन लाग्दा पनि एमाले सरकारमा सहभागी भएको छैन ।
सूचना प्रविधि तथा सञ्चार मन्त्री गुरुङले संघीय गठबन्धनकै मर्मबमोजिम गण्डकीमा सरकार पुनर्गठन हुनुपर्नेमा जोड दिए । ‘कहीं नभएको जात्रा हाँडीगाउँमा भन्थे अहिले गण्डकीमा भएको छ,’ उनले भने, ‘मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गठबन्धन संस्कार र राजनीतिक इमान्दारी देखाउनुपर्छ । उहाँले अराजनीतिक कुरा गरिरहनुभएको छ, यो उहाँको निजी शासन त होइन । निजी प्रणाली होइन ।’
उनले मुख्यमन्त्री पाण्डेले अराजनीतिक कुरा गरेको र गण्डकी प्रदेश सरकारलाई निजीकरण गर्न खोजेको आरोप लगाए । उनले गण्डकीमा मन्त्रीको संख्या बढाउन खोजेकामा असन्तुष्टि व्यक्त गरे । मधेसमा २० मन्त्रालयलाई ११ बनाइएको प्रसंग सुनाउँदै दुःखमा साथ दिएको नाममा अराजनीतिक कुरालाई समर्थन गर्न नसकिने प्रष्ट पारे । मुख्यमन्त्री पाण्डे स्वतन्त्र सांसद राजीव गुरुङ र नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई मन्त्रीपरिषदमै राखेर एमालेलाई सरकारमा आउन भनिरहेका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गठबन्धन संस्कार र राजनीतिक इमान्दारी देखाउनुपर्छ । यो उहाँको निजी शासन त होइन ।
संक्रमणकालीन न्यायसम्बन्धी ऐनले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश गएको उनको भनाइ छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गुरुङले भने, ‘यो अहिलेको सत्ता गठबन्धनको विश्वसनीयता र स्थायित्वसँग जोडिएको महत्वपूर्ण कोशेढुंगा हो ।’
सरकारका प्रवक्तासमेत रहेका गुरुङले नेपालको आफ्नै स्याटलाइट बनाउने योजना सुनाए । त्यसका लागि नीति, ऐन बनाएर चरणबद्ध रुपमा काम गर्ने उनको भनाइ छ । यही वर्षभित्र संघीय प्रहरी ऐन र संघीय निजामती ऐन ल्याउन सरकारले पहल गरिरहेको उनले सुनाए ।
मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई आधुनिक बनाउन आवश्यक सबैजसो ऐन यही वर्ष ल्याई सक्ने उल्लेख गरे । राजा महेन्द्रको पालाको पञ्चायत र त्यसअघिका ऐनमार्फत सरकारी सञ्चार माध्यमहरू चलिरहेको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न ती ऐनमा परिमार्जन अपरिहार्य भएको जनाए । डिजिटल नेपालको अवधारणमा सरकार अघि बढ्ने योजना सुनाउँदै उनले त्यसले सुशासन, समृद्धि, सरकारको प्रभावकारीलाई सघाउने उल्लेख गरे ।
सेक्युरिटी प्रेस सञ्चालन गरी एक वर्षभित्रै पासपोर्ट छाप्ने र विस्तारै सवारी चालक अनुमति पत्र, अन्तःशुल्क स्टिकर आदि छपाइ गर्ने तयारीमा सरकार रहेको उनको भनाइ छ । उनले यही आर्थिक वर्षभित्र देशैभर फोर जी र मुख्य सहरहरूमा फाइभ जी पुर्याउने सञ्चार मन्त्रालयको योजना सुनाए ।
मन्त्री गुरुङले नेपालको प्रवद्र्धन र पर्यटनको विकासका लागि अग्रेजी च्यानल चलाउनुपर्नेमा जोड दिए । संसारभरका सबै देशले यसरी च्यानल चलाएको जानकारी दिदै उनले नेपालले पनि समग्र नेपालको प्रवद्र्धनको लागि एन टिभी वर्ड चलाउनैपर्ने विचार राखे । कार्यक्रममा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष ईन्द्रप्रसाद पौडेल र महासचिव आश गुरुङले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया