मनाङे र देवकोटालाई मुख्यमन्त्रीको उपहार, जनतालाई भार

समाधान संवाददाता २०८१ भदौ १७ गते १५:०५

पोखरा ।
अधिकार र स्रोतका लागि केन्द्रसँग जुध्नुपर्ने प्रदेश संरचना अहिले सत्ता टिकाउने र गिराउने खेलमै अल्झेको छ । सत्ताकै खेलका कारण गण्डकीका बारम्बार मन्त्रालय थप्ने र घटाउने काम भइरहेको छ । कुनै बेला १२ वटासम्म मन्त्रालय भएको गण्डकीमा अहिले ७ मन्त्रालय छन् ।

Advertisement

सत्ता टिकाउने माध्यम बनेका सांसदद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणीन्द्र देवकोटाको मन्त्रिपरिषदमा थमौतीकै लागि गण्डकीमा फेरि मन्त्रालय थपिएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले २ मन्त्रालय थपेर ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो ।


मन्त्रिपरिषदका निर्णय महिनौंसम्म गोप्य राख्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारले आइतबार भने मन्त्रिपरिषद् बैठक सकिएलगत्तै पत्रकार सम्मेलन गरी निर्णय सुनायो । मनाङेसहितका मन्त्री दायाँबायाँ राखेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रको निर्देशन अनुसार एमालेसँग सहमति भएपछि २ मन्त्रालय थपेर ९ पुर्‍याइएको जानकारी गराए । अहिले फुटाइएका २ मन्त्रालयको संगठन संरचना पहिलेदेखि नै अलग छन् । सचिव समेत २/२ जना नै छन् ।


मुख्यमन्त्री पाण्डेले अहिले २ वटा मन्त्रालय थप्दा कर्मचारी संगठन केही पनि थपघट गर्नु नपर्ने भन्दै मन्त्री र स्वकीय सचिवालयका सदस्य थपिँदा थोरै खर्चमात्र बढ्ने प्रष्टीकरण दिए । मुख्यमन्त्री पाण्डे मन्त्रालय फुटाएर १० वटा पु¥याउन चाहन्थे तर प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि ९ वटामा समेटिएको हो ।

९ वटा मन्त्रालय बनाइए पनि अब कांग्रेसबाट थप मन्त्री बन्न नहुने

Advertisement


गण्डकी प्रदेश सभामा कांग्रेसका २७ र एमालेका २२ सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा ४९ सत्ता पक्षीय सांसद हुँदा दुईतिहाईभन्दा (८१ प्रतिशत) बढी पुग्छ । तर मुख्यमन्त्री पाण्डेले मनाङे र देवकोटालाई मन्त्री उपहार दिँदै जनतालाई भार बढाएका छन् । मनाङे र देवकोटाको साथ पाएर मुख्यमन्त्री बनेको हुँदा पाण्डेले उनीहरुलाई मन्त्री उपहार दिइराख्ने निर्णय गरेका हुन् ।


सर्वोच्चको परमादेशबाट मुख्यमन्त्रीमा नियुक्त भएपछि पाण्डेले विश्वासको मतका लागि मनाङे र देवकोटालाई बजेटका आधारमा राम्रा मानिएका मन्त्रालयको जिम्मेवारीसाथ सरकारमा भित्रयाएका थिए ।


अरु प्रदेशमा कांग्रेस र एमाले मिलेरमात्रै सरकार गठन गर्न मिल्ने अवस्था रहे पनि गण्डकीमा त्यसभन्दा फरक अवस्था रहे पनि गठबन्धनकै मर्मअनुसार आफू अघि बढेको उनले सुनाए ।


मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्र्याउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भने, ‘९ मध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ५ र एमालेलाई ४ मन्त्रालयको जिम्मेवारी दिइने २ दलबीच सहमति भएको छ, त्यसै अनुसार निर्णय भएको हो ।’ सरकारको निर्णय राजपत्रमा प्रकाशित भएपछि सोमबार वा मंगलबार सरकार विस्तार हुने छ । कुन मन्त्रालय कसको भागमा पर्ने भन्ने बारेमा भन्न मुख्यमन्त्रीले चाहेनन् ।


मन्त्रालयलाई ३ क्लस्टरमा बाँडिएको भन्दै सामाजिक र स्वास्थ्यलाई एउटा विकासे मन्त्रालयलाई एउटा र उद्योग, पर्यटन, वन, तथा वातावरण र कृषिलाई अर्को क्लस्टरमा राखिएको छ । अर्थ, ऊर्जा र सामाजिक विकास कांग्रेससँगै रहँदा भौतिक र स्वास्थ्य एमालेको भागमा पर्नेछ । उद्योग, पर्यटन, वन, तथा वातावरण र कृषि गरी ३ मध्ये २ एमालेलाई पर्दा एउटा कांग्रेसको भागमा पर्ने निश्चित छ । नेपाल समाजवादीका फणीन्द्र देवकोटाई ऊर्जामै कायम राखेर मुख्यमन्त्रीले दीपक मनाङेलाई उद्योग, पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।


पत्रकारहरुको प्रश्नमा मुख्यमन्त्री पाण्डेले एमाले सरकारमा आएपछि सिन मनाङे र देवकोटालाई नहटाउने प्रस्ट्याए । उनले भने, ‘तपाईंहरु यत्ति कुरा बुझ्नुस् उहाँहरु २ जना एमाले थपिइसकेपछिको क्याबिनेटमा पनि हट्नुहुन्न, त्यति कुरामा एमालेलाई कन्भिन्स गरेको छु ।’


९ वटा मन्त्रालय बनाइए पनि अब कांग्रेसबाट थप मन्त्री बन्न नपाउने भएका छन् । एमालेबाट भने नवलपुरकी पद्मा जिसी, पर्वतका मित्रलाल बस्याल, तनहुँका श्यामराजा महत, स्याङ्याका सुधीर पौडेल र बागलुङका कृष्ण पाठकको नाम चर्चामा छ । एमालेले यसअघि मन्त्री भइसकेकालाई नदोहोर्‍याउने भनेको छ । सँगसँगै अहिले प्रत्यक्ष निर्वाचितलाई मात्र सरकारमा लैजाने भनिए पनि कास्कीका प्रकाशबहादुर केसीलाई पनि मन्त्री बनाउने चर्चा छ ।

तपाईको प्रतिक्रिया