काठमाडौंका मेयर बालेन सुटुक्क पोखरा आए, ३ दिनमा के के गरेर फर्किए ?

समाधान संवाददाता २०८१ भदौ २५ गते १२:४१
पोखरा १४ विजयपुर खोला किनारको देउराली फार्म हाउसमा बालेन र उनका साथीहरु । साथमा पोखरा १३ का वडाध्यक्षसँगको तस्बिर ।

पोखरा ।
काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साह (बालेन) हालै पोखरा आएर फर्किएका छन् । उनले २ रात ३ दिन पोखरामा बिताएका थिए । केही साथीहरुसहित पोखरा आएका बालेनले पोखरा १४ स्थित आफ्ना मित्रको फार्महाउसमा २ रात बिताएका थिए । अनि त्यहीं साथीहरुसँग खेल्ने, रमाउनेसहित पोखराका केही ठाउँ घुमेका थिए ।

Advertisement


गएको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका लेखक गनेस पौडेलको निम्तोमा बालेन शुक्रबार पोखरा आएका थिए । उनी गनेसको पोखरा १४ स्थित देउराली फार्म हाउस (मझेरी मञ्जिल)मा बसेका थिए । त्यसक्रममा बालेन पोखरा २८ को ठूलाकोट पनि घुम्न गएका थिए । आइतबार बालेन काठमाडौं फर्किएका हुन् ।


कुमान बेन, सुवास शर्मा, त्रिलोक कार्की सुनिल लम्साल लगायत बालेनका निकटका साथीहरूले फुटबल तथा क्रिकेट खेलेर रमाइलो गरेका तस्बिर तथा भिडियोहरू अहिले सामाजिक सञ्जालमा छन् । उनीहरूले विजयपुर खोला किनारमा बर्ड वाचिङ तथा रिभरसाइड हाइकिङ पनि गरेका थिए ।


बालेन यस्तो बेला पोखरा आएका थिए, जुन दिन उनले प्रधानमन्त्री केपी शर्मालाई चुनौती दिँदै फेसबुक र ट्विटरमा स्टाटस लेखेका थिए । लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्माले घरेलु कामदार राखेको र उनीमाथि कारबाही नभएकोमा बालेनको आक्रोस थियो । बालेनले कि सांसद रेखा शर्मालाई कारबाही गर्न वा नभए आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका थिए । त्यसपछि बालेनका समर्थकहरुले प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियानै चलाएका थिए । त्यसबिचमा बालेनको फेसबुक पेजको स्टाटस भने हटेको थियो तर पोखरा भ्रमणमै रहँदा उनको सो पोस्ट फर्किएको थियो ।


प्रधानमन्त्रीसँगको पैठेजोरीको तनावकै बिच पोखरा आएका बालेनले देउराली फार्म हाउसमा क्रिकेट, फुटबल र पिङ खेलेर साथीहरुसँग रमाइलो गरेका थिए । आफ्नो कविता संग्रह अश्र उनले साथी गनेसलाई उपहार सुम्पिए । उनी पोखरा आएको र गएको जानकारी लुकाइएको हुँदा उनले अरु के के गरी समय बिताएका थिए भन्नेचाहिँ खुलेका छैन । आउँदो २०८४ को चुनाव लक्ष्य गरी पार्टी निर्माण गर्ने र त्यसकै लागि संगठन विस्तारको खाका बनाउने मनसायले बालेन पोखरा आएको हुन सक्ने अडकल पनि काटिएको भए पनि उनका मित्र गनेसले त्यसलाई इन्कार गरेका छन्, ‘यो विशुद्ध मित्रवत भ्रमण थियो । त्यसमाथि बालेनको राजनीतिक दल खोल्ने कुनै योजना छैन ।’

Advertisement

पोखरा बसाइ र घुमघामकै क्रममा बालेनको भेट पोखरा १३ का वडाध्यक्ष तथा कांग्रेसका युवा नेता किरण बरालसँग पनि भएको थियो । वडाध्यक्ष बरालले वडालाई कसरी समृद्ध बनाउने, विकास तथा विभिन्न समसामयिक विषयमा कुराकानी भएको र मंसिरमा हुने पोखरा इन्ड्रो रेसमा सहभागी हुनका लागि मेयर साहलाई निमन्त्रणा गरेको उल्लेख गर्दै बालेनसँगको फोटो फेसबुकमा राखेका छन् । वडाध्यक्ष बरालसँग बालेनको भेट पनि कुनै राजनीतिक कारणले नभएर आकस्मिक र सुखद भेटमात्रै रहेको गनेसले जानकारी दिए ।

सोही क्रममा उनले आफ्नो अर्का पोखरेली साथी र्‍याप गायक लाहुरेसँग पनि भेटेका थिए । लाउरेको फेसबुक पेजमा राखिएको भेटघाटको फोटोमा समर्थकारूले दुबै गायकलाई एकै फ्रेममा देख्दा खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया