गण्डकीमा जसपाको संगठन निर्माण अभियान

पोखरा ।
पोखरा जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेशमा संगठन निर्माण अभियान थालेको छ । पार्टीको केन्द्रीय सर्कुुलेसन अनुुसार गण्डकी प्रदेशमा आधारभूत संगठन निर्माण अभियानको सुरु गरेको हो ।
पोखरा १० उत्तमचोकमा भएको उक्त कार्यक्रममा ५५ जनाले पार्टी प्रवेश गरेका छन् । पार्टीका सह–अध्यक्ष तथा रकम चेम्जोङले संगठन विस्तारको कार्यक्रम अघि बढेको बताए ।
पछिल्लो समय ठूला दलप्रतिको वितृष्णा र उनीहरुको कार्यशैलीका कारण जनता आजित भएकाले अब नयाँ बैकल्पिक पार्टी रोज्ने कार्य सुरु भएको उनले सुनाए । पार्टीले हाल कांग्रेस–एमाले सरकारलाई समर्थन गरेको र नराम्रो काम गरेमा तत्कालै समर्थन फिर्ता लिने समेत बताए । विशेष गरी पार्टीले संविधान संशोधनको विषयलाई लिएर समर्थन गरेको उनको भनाइ छ ।
पूर्व विज्ञान प्रविधि मन्त्री तथा केन्द्रीय उपाध्यक्ष शिवलाल थापाले आम नागरिक निर्वाचनमा सहभागि हुन निकै असहज भएकाले समानुपातिक निर्वाचन प्रणाली हुनुुपर्नेमा जोड दिए । संघ र प्रदेशका लागि पार्टीगत रुपमा निर्वाचनमा जानुपर्ने र स्थानीय तहमा भने पार्टीगत जान नहुने उनले बताए ।
‘हामीले राष्ट्र प्रमुख वा कार्यकारी प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनुुपर्छ भनेका छौं । संविधान संशोधन हाम्रो पनि माग हो,’ उनले भने, ‘अहिले संघीयताको नाममा केन्द्रीकृत मानसिकता कायमै छ । प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्राप्त गरेका छैनन् ।’ संघीयता असफल बनाउन केही तत्वहरु लागिरहेको र त्यसलाई चिर्न आवश्यकता रहेको उनले सुनाए ।
सोही क्रममा समाजवादी युवा संघ गठनसमेत गरिएको छ । भगवान श्रेष्ठको संयोजकत्वमा १९ सदस्यीय संघ गठन भएको हो । मधुकर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिवलाल थापा, केन्द्रिय सदस्य देवबहादुर दुरा लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया