पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायमा पिएचडी

पोखरा ।
पोखरा विश्वविद्यालयअन्तर्गत स्वास्थ्य विज्ञान संकायमा पीएचडी कार्यक्रमको ओरियेन्टेशन कार्यक्रम भदौ २९ मा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विद्यावारिधि अध्ययन अब सजिलो भएको र इन्टरनेटको माध्यमबाट अध्ययन सामग्री विश्वभरबाट सहजै उपलब्ध हुन थालेको बताए । उनले विद्यार्थीलाई मिहिनेत, दृढता, र राष्ट्रको लागि योगदान गर्ने मानसिकता आवश्यक रहेको औंल्याए ।
रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीले पिएचडीले ज्ञानको ढोका खोल्ने बताए । उनले पिएचडी अध्ययनलाई जीवनको महत्वपूर्ण मोडको रुपमा लिएर सोच परिवर्तन गर्न आग्रह गरे । स्वास्थ्य विज्ञान संकायका डीन सह–प्राध्यापक डा. अमर नागिलाले विश्वविद्यालयमा अनुसन्धान र सेवाको महत्वबारे चर्चा गरे । उनले विद्यार्थीहरूलाई अनुसन्धानको वातावरण बनाउन र अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयहरूसँग सहकार्य गर्नुपर्ने बताए ।
मानविकी तथा सामाजिक शास्त्र संकायका डीन सह–प्राध्यापक डा. अजय थापाले पिएचडी अध्ययनलाई सगरमाथा आरोहणसँग तुलना गर्दै यो एक कठिन यात्रा भए पनि यसले विद्यार्थीलाई नयाँ उचाईमा पुर्याउने विचार राखे ।
परीक्षा नियन्त्रक सह–प्राध्यापक डा. तुल्सीराम भण्डारीले विद्यार्थीलाई पिएचडीपछि सफल बनाउने विश्वविद्यालयको दायित्वबारे चर्चा गर्दै विद्यार्थीले ब्रान्ड बनेर निस्कनुपर्नेमा जोड दिए ।
स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजकी प्राडा निर्मला जम्मरकट्टेलले पिएचडी कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न पाउँदा खुसी व्यक्त गरे । उनले अनुसन्धान र प्रकाशनको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड गरे । सह–प्राध्यापक डा. गुलाम खाँले विद्यार्थीलाई अनुशासनको महत्त्व बुझाउनुपर्ने बताए । सह–प्राध्यापक डा. हरिप्रसाद काफ्लेले पिएचडी कार्यक्रमको भिजन र सञ्चालन प्रक्रियाबारे जानकारी दिए ।
पोखरा विश्वविद्यालय रेडियो इमेजिङ विषय समितिका अध्यक्ष प्राडा ईश्वरीप्रसाद पौडेलले पिएचडीका लागि आवश्यक फाउन्डेसन कोर्षको महत्व बताउँदै सही अनुसन्धानका लागि टाइटल र क्षेत्रको चयन महत्वपूर्ण रहेको उल्लेख गरे ।
पिएचडी क्यान्डिडेट एवं उपप्राध्यापक अतिस सम्बोधनबर्दन कौडिन्नायनले आफ्नो अनुभव साट्दै, विश्वविद्यालयका उच्च क्षमतायुक्त प्राध्यापकहरूको सहयोगबाट उत्कृष्ट अनुसन्धान गर्न सकिने विश्वास व्यक्त गरे । अर्की पिएचडी क्यान्डिडेट सिर्जना पण्डित पहारीले आफ्नै देशमा शिक्षा हासिल गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
कार्यक्रममा ६ जना पिएचडी क्यान्डिडेट सहभागी थिए । उनीहरुले ३ देखि ५ वर्षसम्मको अवधिमा ६ सेमेस्टर पूरा गर्नुपर्नेछ । कक्षाहरू १५ सेप्टेम्बर २०२४ देखि सुरु हुनेछन् । कार्यक्रमको सञ्चालन सह–प्राध्यापक डा. डमरुप्रसाद पनेरुले गरेका थिए ।
तपाईको प्रतिक्रिया