पोखरा विश्वविद्यालयका उपकुलपति अर्यालको बिदाइ

समाधान संवाददाता २०८१ असोज १४ गते ५:४१

पोखरा । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको बिदाइ गरिएको छ । ४ वर्षे कार्यकालपछि अवकाश प्राप्त गरेका उनलाई विश्वविद्यालय परिवारले बिदाइ गरेको हो ।

Advertisement


उपकुलपति अर्यालले आफ्नो कार्यकालको समीक्षा गर्दै भने, “मैले सकारात्मक सोच्ने गर्छु र सधैं सत्य कुरा गर्ने प्रयास गर्छु।” उनले विद्यार्थी संख्यामा वृद्धि र शैक्षिक सुधारका कामलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै, आएको दिनमा ५ हजार विद्यार्थी पुर्‍याउने लक्ष्य राखेको थिएँ। अहिले धेरै सम्बन्धन दिइएको छ, कति विद्यार्थी हुन्छन्, त्यो समयले बताउनेछ, उनले थपे ।

कार्यक्रममा अर्यालले प्रशासनिक र शैक्षिक भवनमा भएका विकासलाई पनि स्मरण गर्दै भने, “हामीले वाचा गरेको ६ महिनाभित्र अस्पताल सञ्चालन गरेका छौं र मुसेटुँडामा ८ अरबको डिपिआर तयार गरेका छौं।” आफ्नो कार्यकालमा विभिन्न शैक्षिक सुधारका पहलहरू, जस्तै इन्टरप्रेन्यूरसिप डेभलपमेन्ट कार्यक्रमको थालनी, पाठ्यक्रमहरुको पुनरावलोकन जस्ता कार्यहरूको उल्लेख गरे । उनले कानुन जस्ता नयाँ कार्यक्रमहरू थप्न सफल भए पनि केही अधुरो योजनाहरूका बारेमा आफू सन्तुष्ट नरहेको प्रष्ट पारे ।

प्राडा अर्यालले आफ्नो कार्यकालमा धेरै सिनियर प्राध्यापकलाई अगाडि बढाउन प्रयास गरे पनि व्यवस्थापन पक्षबाट निरन्तरता दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै भविष्यमा कसैले चित्त नदुखाउन आग्रह गरे । उनले क्यूएए पाउने र राष्ट्रिय पुरस्कार हात पार्ने विद्यालयको सफलताको पनि चर्चा गर्दै पोखरा विश्वविद्यालयलाई सधैं अघि बढेको देख्न चाहने आफ्नो इच्छा व्यक्त गरे ।
समारोहका अर्का वक्ता, पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा तीर्थराज अर्यालले प्राडा प्रेमनारायण अर्यालको कार्यकालमा विश्वविद्यालयले गरेको प्रगतिको प्रशंसा गरे । उनले भने, “उहाँको पालामा विद्यावारिधि कार्यक्रमको थालनी भयो, जुन निकै ठूलो उपलब्धि हो।” उनले निवृत्त भएपछि पनि प्राडा अर्यालले विश्वविद्यालयलाई निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे ।

रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले उपकुलपति अर्यालको नेतृत्वको प्रशंसा गरे । उनले भने, उपकुलपति हाम्रो टिमको लिडर हुनुहुन्थ्यो, उहाँको नेतृत्वमा हामीले धेरै कठिनाइहरूलाई समाधान गर्दै विश्वविद्यालयलाई आजको अवस्थासम्म ल्याएका छौं। उनले उपकुलपति र रजिष्ट्रारको सम्बन्धले विश्वविद्यालयको प्रगति कति महत्वपूर्ण हुन्छ भन्ने कुरा उल्लेख गरे । उनले थपे, काम इमान्दारीका साथ गर्दा मतभेद भए पनि हामी विश्वविद्यालयको हितका लागि सधैं सकारात्मक भएर अघि बढ्यौं।

Advertisement


समारोहमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूको उपस्थिति थियो। कार्यक्रममा अन्य वक्ताहरुले प्राडा अर्यालले थालनी गरेका विकास कार्यहरूलाई निरन्तरता दिने र उनबाट सिकेका ज्ञानहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको पोविविका सूचना अधिकृत लोकप्रसाद ढकालले बताए ।

तपाईको प्रतिक्रिया