टाइगर ग्रुपको आयोजनामा मुटु रोगको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

समाधान संवाददाता २०८१ असोज १५ गते ११:५१

पोखरा, १३ असोज । अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गरेर चर्चा कमाइरहेको पोखराको टाइगर ग्रुप अफ नेपालले थप विभिन्न सामाजिक काम गर्ने क्रममा निशुल्क मुटु परिक्षण शिविर सम्पन्न गरेको छ ।

Advertisement

कास्कीको अन्नपूर्ण गाउँपालिको नाउडाडामा गत आइतबार स्थानीय अन्नपूर्ण गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरेर शिवर आयोजना गरिएको थियो । विश्व मुटु दिवसको अवसर पारेर आयोजना गरिएको सो शिविर सम्पन्न गर्नका लागि टाइगर ग्रुपका अलावा स्वस्थ मुटु नेपाल अन्नपूर्ण गाउँपालिका र चरक मेमोरियल हस्पिटल पनि आयोजकका रुपमा खटिएर शिविर सम्पन्न पारेका हुन ।

मुटु रोग तथा यसबाट हुनसक्ने क्षतिलाई कम गर्न मुटु दिवसकै सन्दर्भ पारी आयोजना गरिएको शिविरका लागि मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्ट सेन्टर काठमांडौ, जयन्ती मेमोरियल ट्रस्ट नेपाल, अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था, ढिकुर पोखरी समाज, नेपाल रेडक्रस सोसाईटी कास्की, होटल पिस प्लाज़ा लगायतले सहयोग गरेका थिए ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा सूर्य देवकोटाको अग्रसरतामा मुटु दिवसका अवसरमा हरेक वर्ष कास्कीमा मुटु सम्बन्धि सचेतना विस्तार गर्ने उदेश्यका साथ निशुल्क मुटु रोग शिव‍िर आयोजना गरिदै आएको छ । यस पटक डा देवकोटाको जन्म गाउँ अन्नपूर्ण पालिका मै शिविर आयोजना गरिएको स्वस्थ मुटु नेपालका उपाध्यक्ष भरत पराजुलले बताए ।

खेलकुदको उद्देश्य पनि स्वस्थ जिवन भएकाले टाइगर ग्रुपले हरेक वर्ष विभिन्न संघ सस्थासँग सहकार्य गरेर मुटु सम्बन्धि निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको टाइगर ग्रुप अफ नेपाल पोखराका अध्यक्ष नारायण शर्मा पौडेलले बताए ।

Advertisement

शिविरमा करिव  ४०० जना सेवाग्राही लाभान्वित भएको स्वस्थ्य मुटु नेपालका सचिव प्रकाश बिक्रम जिसीले बताए । उनका अनुसार सेवा लिन आएका सेवाग्राही मध्ये १७१ जनाको ईको, २५० जनाको ईसिजि र २९१ जनालाई औषधी वितरण गरिएको थियो ।

मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्ट सेन्टर काठमांडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. देवकोटासहित डा. दिनेश उप्रेती, डा. मदीना मियाँ साथै पोखरास्थित चरक मेमोरीयल हस्पिटल प्रा. लि.का डा. एस.के. जैसवाल, सन्देश प्रकाश पराजुलीसहितको १३ सदस्यीय चिकित्सक सहित १६ जनाको प्राविधिक टोलीले सेवा उपलब्ध गराएको थियो ।

कार्यक्रम सुरु गर्नु अघि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसी, डा. सूर्य देवकोटा, चरक मेमोरियलका प्रबन्ध निर्देशक कपिल पोखरेल, नेपाल रेडक्रस सोसाईटी कास्कीका अध्यक्ष डण्डराज पौडेललगाएत विभिन्न संघ संस्थाको सहभागितामा नागडाँड़ाचोकदेखि गाउँपालिकाको कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया