ज्येष्ठ बामपन्थीहरुको पुनर्मिलन

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको हीरक वर्षको सन्दर्भमा गण्डकी प्रदेश स्तरीय बामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम पोखरामा भएको छ । प्रदेशका वामपन्थी ज्येष्ठहरुबिच अनुभव आदानप्रदान गर्नुका साथै पहिलो पल्ट पुनर्मिलन कार्यक्रम गरेको बामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकीका संयोजक कृष्णप्रसाद आचार्यले बताए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वामपन्थी ज्येष्ठ नागरिकको सक्रियताले अहिलेको कम्युनिस्ट आन्दोलनलाई समेत दिशानिर्देश गर्न सहयोग पुग्ने बताए । नेपाली कांग्रेस एक पटक फुटेको उल्लेख गर्दै उनले पटक पटक फुट्ने कम्युनिस्ट पार्टीलाई एकीकरणमा ध्यान दिन आग्रह गरे ।
आचार्यले बामपन्थी ज्येष्ठ नागरिकको पुनर्मिलन कार्यक्रम नयाँ पुस्ताका लागि अनुकरणीय भएको दाबी गरे । मेयर आचार्यले सहभागी सबैलाई पोखरा महानगरपालिकाको तर्फबाट खादा लगाएर स्वागतसमेत गरे ।
कार्यक्रम संयोजक आचार्यले पञ्चायती शासन व्यवस्थालाई ढाल्न कम्युनिस्ट आन्दोलनमा होमिएका ज्येष्ठ नागरिकहरुको अनुभव आदानप्रदान गर्ने उद्देश्यले गरेको कार्यक्रममा प्रदेशका सबै जिल्लाका जुनसुकै कम्युनिस्ट पार्टीमा रहेर या स्वतन्त्र रुपमा काम गरेका ज्येष्ठ नागरिक सहभागी भएको बताए । कार्यक्रममा ७० वर्ष उमेर पार गरेका (महिला र दलितको हकमा ६५ वर्ष ) ज्येष्ठ नागरिकको सहभागिता थियो ।
‘पञ्चायत कालमा बामपन्थी आन्दोलनमा लाग्न कठिन थियो,’ उनले भने, ‘स्वदेश र प्रवासमा रहेर भूमिगत तथा खुल्ला रुपमा संगठित हुँदै धेरै योद्धाले जेल नेल तथा कठोर यातना सहेर गरेको आन्दोलनले गणतन्त्र स्थापना भएको हो ।’ उनले अहिले उमेर र सक्रियताको दृष्टिले जीवनको उत्तरार्धमा पुगेका पुस्ताको योगदानलाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे ।
बामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकी सहसंयोजक मोहन केसीले कार्यक्रममा सहभागी सबैको अनुभवलाई श्रव्य दृश्यका माध्यमबाट अभिलेखीकरण गर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव श्रीनाथ बराल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, बामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकीका सचिव झलक सुवेदी, सदस्यहरु पुण्यप्रसाद पौडेल, रामराज रेग्मी, पूर्ण गिरी, बामपन्थी अगुवाहरु राधा ज्ञवाली, खेमनारायण ढुंगाना लगायतले नेपालको कम्युनिस्ट आन्दोलनमा ज्येष्ठ कम्युनिस्टहरुले गरेको योगदानबारे प्रकाश पारे ।
तपाईको प्रतिक्रिया