सामाजिक सञ्जाल व्यवस्थित गरिँदैछः सञ्चारमन्त्री

समाधान संवाददाता २०८१ कार्तिक ११ गते ११:१९

लमजुङ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय सामाजिक सञ्जाललाई व्यवस्थित बनाउनेसहित सञ्चार क्षेत्रमा विभिन्न युगानुकूल परिवर्तन गर्न लागिपरको जनाएका छन् । एमाले लमजुङले दसैँ, तिहार, नेपाल संवत्, छठको अवसरमा बेँसीसहरमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले मन्त्रालय योजनावद्ध रुपमा अघि बढेको उल्लेख गरे ।

Advertisement


‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सरकारले नीति तर्जुमा गर्न लागेको छ । यो जमाना आइटी र सूचनाको हो, सञ्चार मन्त्रालयले नागरिक एपमार्फत सबै काम गर्ने छ,’ उनले भने, ‘फोरजी सेवाको काम ८० प्रतिशत पूरा भएको छ । राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट स्वदेशमा नै छाप्ने योजना छ ।’ विदेशमा छापिँदै आएको हुलाक टिकट हाल स्वदेशमा नै छापिने गरेको उनले सुनाए ।


नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर रहेको उल्लेख गरे । सहकारीको रकम ठगीमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याइने र ठगीको अभियोगमा अनुसन्धानका निम्ति प्रहरीको नियन्त्रणमा रहेका सबैलाई कानुन अनुसार कारबाही हुने उनले प्रष्ट पारे ।


ऐन, कानुन विपरीत गर्ने सबैलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमन्त्री गुरुङले सत्तापक्ष र विपक्ष नहेरिने, कसैको दबाब र प्रभावमा सरकार नपर्ने जनाए । उनले सरकारले बाढीपहिरो पीडित, सहकारीपीडित, कृषक, व्यवसायी, निर्माण व्यवसायी लगायत सबै पेसाकर्मीलाई सहयोग पुग्नेगरी सरकारले काम गरिरहेको जनाए ।

बाढीपहिरोबाट अतिप्रभावित पालिकालाई १ करोड, मध्यम क्षति भएकालाई ६० लाख प्रदान गर्ने निर्णय सरकारले गरेको जानकारी दिँदै उनले अस्थायी बासको व्यवस्था पनि सरकारले गर्ने बताए । मन्त्री गुरुङले ३० लाख दूध किसानमध्ये १५ लाख किसानका समस्या समाधान गर्नेदेखि निर्माण व्यवसायीलाई भुक्तानी दिनेसम्मका काम सरकारले प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता गरे ।

Advertisement


वर्तमान सरकार गठन भएयता आफूहरूले मुलुकको अर्थतन्त्रमा सुधार गर्न हरसम्भव प्रयास गरिरहेको, प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा छिमेकीहरूसँगको सम्बन्ध विस्तारमा विशेष जोड दिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया