नकारात्मक भाष्यले निराशा बढ्योः सिटौला

पोखरा ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रपछि समृद्धिको यात्राको गति तीव्र हुनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरेका छन् । राष्ट्रियसभा सदस्यसमेत रहेका नेता सिटौलाले नागरिकमा ऊर्जा र देशप्रति आशा सञ्चार गर्ने दायित्व पनि राज्य र नेताहरुकै भएको उल्लेख गरे ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले पोखरामा आयोजना गरेको ‘वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार’ विषयक कार्यक्रममा उनले यस्तो जनाएका हुन् । नेता सिटौलाले नेपाली कांग्रेसले सधैँ पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्ने जनाए ।
‘मुलुकमा लोकतन्त्र स्थापित भएपछि विकासका धेरै काम भए पनि नकारात्मक भाष्यले जनतामा निराशा जगाएको छ । यसलाई चिर्न जरुरी छ,’ उनले भने । संविधानको मौलिक हकमा राखिएको उपभोक्ताका अधिकारलाई राज्यले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।
उपभोक्ता र व्यवसायीका सरोकार बुझेर विधिसम्मत काम गर्ने दायित्व राज्यको भएको औंल्याउँदै नेता सिटौलाले समयसापेक्ष कर प्रणालीलाई परिमार्जन गर्नुपर्नेसमेत बताए । उनले अहिले कांग्रेसभित्र एकता र सहकार्यको आवश्यकतामा जोड दिए ।
कांग्रेसका सूचना तथा सञ्चार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले उपभोक्त र व्यवसायी दुवैका लागि अभिभावक बनेर राज्यले भूमिका निर्वाह गर्नुपर्ने विचार राखे । युवालाई उद्यम र उत्पादनमा लाग्न आग्रह गर्दै उनले उत्पादन वृद्धि नभएसम्म देशको समृद्धि र विकास सम्भव नहुने उनको भनाइ छ ।
कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख गुरु बरालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, गण्डकी सभापति शुक्रराज शर्मा, राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री विष्णु लामिछाने, सञ्चार विभाग प्रमुख रमेश पौडल, कास्की सभापति कृष्णदत्त बराल, नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी लगायतले उपभोक्ता अधिकार र आपूर्ति व्यवस्थाबारे धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया