रवि लामिछानेसँग सरकारी वकिलले लिए ८ घन्टा बयान

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोमबार पनि सरकारी वकिलको कार्यालयले बयान लिएको छ । सोमबार विहान ११ बजेदेखि साँझ पैने ८ बजेसम्म बयान लिएको सरकारी वकिलको कार्यालयकी प्रमुख न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् । उनका अनुसार लामिछानेसँग सोमबार तेस्रो पटक बयान लिएको हो । बयान अझै बाँकी रहेको काफ्लेले जानकारी दिइन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । उनलाई कात्तिक ८ गते बिहीबार अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पूर्व विभागीय मन्त्रीलाई विशेष सुविधासहित राखेको कास्की प्रहरी अहिले रविमाथि एकसाथ ३ अभियोगमा अनुसन्धान गर्दै छ ।
कास्की प्रहरी सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेसहित गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीमाथि पनि अनुसन्धान गरिरहेको छ । लामिछाने, जोशी र जिबी राईले सूर्यदर्शनको रकम अवैधानिक रुपमा गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । सूर्यदर्शनमा १ अर्ब ३५ करोड हिनामिना भएको छ ।
तपाईको प्रतिक्रिया