अपांगमैत्री कानुन बनाउन प्रतिबद्ध छौंः मन्त्री थापा

समाधान संवाददाता २०८१ कार्तिक १४ गते १२:२७

पोखरा ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपांग मैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताएका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपांगता अधिकार ऐन तर्जुमाका लागि अपाङ्गता अधिकारकर्मी नेतृत्वको वकालत परियोजना अन्तर्गत अपांगता भएका व्यक्तिहरुका लागि भौतिक पूर्वाधार, सञ्चार र यातायातमा पहुँचसम्बन्धी अन्तक्र्रियामा उनले प्रदेश सरकार अपांग मैत्री बन्दै आएको बताए ।

Advertisement


मन्त्री थापाले अपांगताको क्षेत्रमा काम गर्ने संघ, संस्थासँग मिलेर प्रदेश सरकार अगाडि बढ्ने उल्लेख गरे । प्रदेशमा बन्ने संरचनाहरु अपांग मैत्री बनाउन पहलकदमी गरिने भनाइ उनको छ । मन्त्री थापाले अपांगताको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै ऐनमा नै सहज वातावरण मिलाउने व्यवस्था गर्ने गरी प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


सार्वजनिक स्थान, यातायात र अन्य क्षेत्रमा अपागता भएका व्यक्तिहरुले सहजै काम गर्न सक्ने गरी व्यवस्था गरिने उनले बताए । गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा एमालेकी सचेतक देवका पहारीले सामाजिक क्षेत्रका हरेक विषयमा अपांगतामैत्री वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरिन् ।


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कुशुम बुढा मगर, राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख नितु गर्तौला, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका महिला तथा सामाजिक शाखा प्रमुख मुना अधिकारीले बालेका थिए ।


स्वालम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव अन्जना केसीले पनि बोलेकी थिइन् । कार्यक्रममा अपांगता भएका व्यक्ति र परिवारले भोग्नुपरेका समस्याका विषयमा जानकारी गराइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया