कालिका बहुमुखी क्याम्पसको ३३ औं सभा

समाधान संवाददाता २०८१ कार्तिक २२ गते १७:५०

पोखरा । कालिका बहुमुखी क्याम्पसको ३३ औं क्याम्पस सभा बिहीबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन पारित गर्नुको साथै आगामी वर्षको प्रस्तावित बजेट एवं कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।

Advertisement


क्याम्पसकी पूर्वअध्यक्ष प्रेमकुमारी केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले आगामी वर्षको लागि ६ करोड ८ लाखको प्रस्तावित बजेट पारित गरेको हो ।

जसको लागि आगामी वर्ष क्याम्पसमा अनुसन्धान केन्द्र स्थापना गर्नेदेखि पुस्तकालयको विस्तार र भवन मर्मत सम्भारका कार्यक्रम छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सिनेटरहरूले क्याम्पसको क्षैक्षिक एवं भौतिक विकासका लागि महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए ।

अध्यक्ष किरण केसीले क्युएए प्राप्त गरेकामा खुसी व्यक्त गर्दै क्याम्पसलाई मानित विश्वविद्यालय बनाउन सबै पक्षको सहयोगको अपेक्षा गरे । सभामा क्याम्पस प्रमुख बीरन्जी गौतमले क्याम्पसको प्रतिवेदन एवं भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्व प्रमुख वालकृष्ण शर्मा, डा. चन्द्रबहादुर गुरूड, मिनबहादुर गिरी, गणेश पौडेल, प्रेमकुमार गौतम, गणेश आले, गोकर्ण कार्की लगायतले बोलेका थिए । कार्यक्रममा उपाध्यक्ष बोधबहादुर कार्कीले स्वागत र पूर्व क्याम्पस प्रमुख रवीन्द्र बास्तोलाले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले गरेका थिए ।

Advertisement

सोही कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्की र सदस्य बन्दना केसीलाई बधाई एबं सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया