लेकसिटी कलेजमा नवागन्तुक विद्यार्थीको स्वागत

समाधान संवाददाता २०८१ मंसिर १ गते १९:२३

पोखरा । पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा नवागन्तुक विद्यार्थीका लागि अभिमुखीकरण भएको छ । शुक्रबार क्याम्पसमै आयोजित कार्यक्रममा बिबिएस र बिएएसडब्लु प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विभिन्न विषयमा प्रस्तुति गरिएको थियो ।

Advertisement

कलेज सञ्चालक समितिका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले पोखरामा मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट शैक्षिक थलोका रुपमा लेकसिटी स्थापित भएको बताए । १२ कक्षा उत्तीर्ण हुनेबित्तिकै विदेश गइहाल्नुपर्छ भन्ने सामाजिक परिवेशले अहिले विद्यार्थीहरुलाई अलमलमा पारेको उनको भनाइ थियो । स्नातक तहको पढाइ नेपालमै गरेर त्यसपछिको शिक्षाका लागि विकल्पसहित बाहिर जाँदा राम्रो हुने प्राडा पराजुलीले बताए ।

कार्यक्रममा अस्ट्रेलियाको ला ट्रोबे युनिभर्सिटी डिपार्टमेन्ट अफ सोसल वर्ककी प्राध्यापक एन्नी टोनसेन्टले सोसल वर्क विषयको महत्वका बारेमा प्रस्तुति राखिन् । उनीसँगै आएकी विद्यार्थी कोले डिलियनले सोसल वर्कका बारेमा अध्ययन गर्नकै लागि आफू नेपाल आएको सुुनाइन् । प्रोफेसर एन्नी र विद्यार्थी कोले ३ महिना नेपाल बसेर यहाँको सोसल वर्कका बारेमा अध्ययन गर्नेछन् ।
कार्यक्रममा क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठले विभिन्न क्षेत्रमा स्थापित व्यक्तिहरु लेकसिटीमा प्राध्यापनमा आबद्ध भएको भन्दै यसको फाइदा लिन विद्यार्थीलाई आग्रह गरे । उनले विद्यार्थीमा अनुशासनको महत्व र क्याम्पसका नियमका बारेमा जानकारी गराए ।

उक्त अवसरमा सहायक क्याम्पस प्रमुखहरु उपेन्द्रप्रसाद पौडेल, आमोदविक्रम कोइरालाले आआफ्ना विषयमा प्रस्तुति राखेका थिए ।

क्याम्पसका संस्थापक समेत रहेका उपप्राध्यापक विष्णुप्रसाद अधिकारीले पोखराकै उत्कृष्ट शैक्षिक गन्तव्य रोजेर आएकामा विद्यार्थीलाई धन्यवाद् व्यक्त गरे । कक्षा शिक्षणका अतिरिक्त वाह्य अभ्यासहरु पनि हुने भएकाले त्यसमा सक्रियरुपमा क्रियाशील हुन उनले आग्रह गरे । उक्त अवसरमा विद्यार्थीद्वय विवेक लामा र अस्मिता रानाभाटले कलेजमा समेटेका अनुभव सुनाएका थिए । कार्यक्रममा समाज विज्ञान केन्द्रका अध्यक्ष प्राध्यापक ठानबहादुर क्षेत्री, डा. रामचन्द्र बराल, कलेजका उपप्राध्यापकहरु सहभागी थिए ।

Advertisement

लेकसिटी कलेज मातहत समाज विज्ञान केन्द्र सञ्चालित छ । केन्द्रले मासिक रुपमा समसामयिक विषयमा कचहरी चलाउँदै आएको छ । कलेजले आम्दानीको केही हिस्सा अनुसन्धानमा खर्चिंदै आएको छ । समाज विज्ञान केन्द्रका संरक्षक प्राडा विश्वकल्याण पराजुलीले केन्द्रले १० वर्षदेखि समसायिक विषयमा नियमित छलफल गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिइने जानकारी दिए । यसरी गरिएका छलफलको निष्कर्ष प्रकाशन गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया