जनप्रिय क्याम्पसमा पुरस्कार वितरण

पोखरा ।
जनप्रिय बहुमुखी क्याम्पसमा एसोसिएसन अफ बिबिए/बिआईएम स्टुडेन्ट (एबिबिएस) द्वारा आयोजित स्पोटर्स मिट २०८१ को पुरस्कार वितरण गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले बिबिए कार्यक्रम पहिलो पटक उपत्यका बाहिर सञ्चालन गर्ने संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको पहलको प्रशंसा गर्दै विगत २ दशकदेखि जनप्रिय सर्वोकृष्ट ठहरिएकाले जेएमसीका विद्यार्थी अब्बल छन् भन्ने मान्यतालाई कायम राख्न सुझाव दिए ।
बिजुक्छेले थपे, पढेर विदेश जाने सोचभन्दा माथि उठेर स्वदेशमै व्यापार, वाणिज्य, उद्योग, जागिर र उद्यमशीलतामा लाग्न आग्रह गरे । क्याम्पस प्रमुख कृष्णबाबु बरालले अब्बल पढाइ र सफलताका लागि विद्यार्थीमा निहित प्रतिभालाई उजागार गर्न क्याम्पसले २०६२ सालदेखि नै एबिएस गठन गरी स्पोटर्स मिट र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको जानकारी गराए ।
बिबिए/बिआईएम कार्यक्रम संयोजक यामकुमार बरालले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता रह्यो भने व्यक्तित्व विकासमा सहयोग पुग्ने हुँदा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
स्पोटर्स मिटका विजयी प्रतिभालाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, क्याम्पस प्रमुख कृष्णबाबु बराल, निवर्तमान क्याम्पस प्रमुख रमेशबहादुर खड्का, बिबिए/बिआईएम कार्यक्रम संयोजक यामप्रसाद बरालले पुरस्कार, सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
स्पोटर्स मिटमा क्रिकेट, फुटसल, भलिबल, फुटबल, बुद्धिचाल, बास्केटबल, टग अफ वार, टेबल टेनिस, ब्याटमिन्टन लगायतका खेलहरू समावेश गरिएका थिए ।
एबिबिएसका अध्यक्ष लक्ष्मण विकको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रिया सिग्देल, कञ्चन पौडेल र अनुज अधिकारीले बोलेका थिए ।
तपाईको प्रतिक्रिया