डिज्नील्याण्ड एकेडेमीको १८औँ वार्षिकोत्सव

समाधान संवाददाता २०८१ मंसिर १० गते १७:११

पोखरा ।

Advertisement

डिज्नील्याण्ड एकेडेमीको १८औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले समय र परिवेशसँगै शिक्षा नीति तथा कार्यक्रम पनि परिवर्तन हुँदै गएको आजको परिवेशमा शिक्षकले शिक्षण गर्ने तरिका बदल्नुपर्नेमा जोड दिए ।


आजका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउन सक्षम हुने शिक्षा प्रदान गर्न आवश्यक रहेको आचार्यले स्पष्ट पारे । सामुदायिक र निजी विद्यालयमा शिक्षक योग्यता उस्तैउस्तै, शिक्षण क्रियाकलाप उस्तैउस्तै भए पनि निजी विद्यालयले आफ्नो शैक्षिक स्तर बढाउन सकेको भन्दै उनले सामुदायिक विद्यालयले पनि यसतर्फ ध्यान दिनुपर्ने बताए ।


वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले आफूले विद्यालयमा पढ्दा हरेक पढाईलाई गीतमा ढालेर पढ्ने गरेको र ती गीत अझै पनि ताजा भएको सुनाए । पोखरा ७ का वडाअध्यक्ष राममोहन आचार्यले वडा नंं. ७ माध्यमिक शिक्षाको केन्द्रविन्दु भएको बताउदै शैक्षिक संस्थाहरु संग वडा हातेमालो गर्न सधै तयार रहेको बताए ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले डिज्नील्याण्डले गरेको प्रगति जिल्लाकै नमुना भएको भनाइ राख्दै त्यसलाई बचाइराख्न शुभेक्षा व्यक्त गरे ।

Advertisement

प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले व्यावहारिक शिक्षाबाट मात्रै जीवनयापन गर्न सकिने धारणा राखे ।
कार्यक्रममा अभिभावकको तर्फबाट सन्जय सुवेदी लगाएतले शुभकामना मन्तव्य दिनुभयो । सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत राखिएको थियो । साथै कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीले विभिन्न लोक तथा बाल गीतमा कलात्मक नृत्य प्रदर्शन गरेका थिए ।

कार्यक्रममा २०८० सालको एसइईमा जिपिए ४ ल्याउने स्मृति लम्साल,सृष्टी भण्डारी र सृष्टिना पौडेललाई नगद रु. २५ हजार र स्वर्ण पदक सहित डिज्नी रत्न सम्मानबाट सम्मानित गरियो । साथै कक्षा ८ को आधारभूत तह परिक्षामा जिपिए ४ ल्याउने प्रज्वल पराजुलीलाई पनि सम्मान गरियो ।

त्यस्तै, ४ जिपिए ल्याउन सहयोग पुर्‍याउने विषय शिक्षकहरु अभिशेक कुँवर, दीपक पोखरेल, दीपेश बराल, शर्मिला घले, प्रेम गिरी र हरि शर्मा पनि सम्मानित भए ।

१० वर्ष कार्यरत् शिक्षक–कर्मचारीतर्फ जमुना भट्टराई, गीता चौधरी र शोभा अधिकारी, ७५ वर्षमाथिमा १५ जना ज्येष्ठ अभिभावक तथा इञ्जिनियर बन्न सफल ३ जना पूर्व विद्यार्थीलाई पनि विद्यालयले सम्मान गरको छ ।


असल अभिभावक, भजन मण्डली, विभिन्न लय भाका, झ्याउरेलगायतका विधामा उत्कृष्ट प्रस्तुति गर्ने छात्र छात्रालाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वगत निर्देशक मित्रबन्धु बराल, विधार्थीको तर्फबाट आस्था पौडेल , विद्यालयको प्रगति विवरण सहित भावी कार्य योजना प्रस्तुत प्राचार्य नरेशप्रसाद बराल र संचालन शिक्षक पे्रम गिरी र अनुशा शर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया