
जोमसोम ।
हिउँदको हिमपात र जाडो छल्न मुस्ताङका आधाजसो विद्यालय बेसी स्थान्तरण भइसकेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका गरी १७ सामुदायिक तथा धार्मिक गुम्बा विद्यालय जाडो छल्न बेसी झरेका हुन् ।
हिउँदमा हिमपातले त्यहाँ बालबालिकाको पठनपाठनमा समस्या पर्छ । चिसोकै कारण विद्यालयका बालबालिकालाई निमोनिया, रुघाखोकी लगायत समस्या देखिन्छन् । त्यसो त उपल्लो मुस्ताङका अधिकांश बासिन्दा ठिहीका बेला जाडो छल्न र घुम्ती व्यापार, व्यवसायमा निस्कने हुँदा त्यहाँका विद्यालय बन्द हुन्छन् ।
उपल्लो मुस्ताङका अधिकांश सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरु धेरै अघिदेखि जाडो छल्न घुम्ती कक्षा सञ्चालनका लागि बेसी झार्ने चलन छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा ३ वटा सामुदायिक र ५ वटा धार्मिक गुम्बा विद्यालय घुम्ती कक्षा सञ्चालनका लागि बेसीमा झरिसकेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिए ।
लोमान्थाङ—३ किम्लिङको झिन्जु आधारभूत विद्यालय जाडो छल्न दसैंपछि बेसी झरेको र २ सामुदायिक र ५ वटा धार्मिक गुम्बा विद्यालय तिहार पर्व लगत्तै जाडो छल्न र घुम्ती कक्षा चलाउन बेसी झरेको प्रशासन प्रमुख केसीको भनाइ छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङमा सामुदायिकतर्फ झिन्जु आधारभूत, राष्ट्रिय आधारभूत र दिव्यदीप माध्यमिक विद्यालयका गरी ९७ जना विद्यार्थीलाई कक्षा चलाउन बेसी झारिएको गाउँपालिकाका प्रशासन प्रमुख केसीले उल्लेख गरे ।
परम्परागत धार्मिक गुम्बा विद्यालय अन्तर्गत निफुक नाम्डोल नर्बोलिङ गुम्बा, पाल एवं नाम्गेल गुम्बा।महाकरुवा शाक्यापा गुम्बा, लो गर्फुक गुम्बा र आमची विद्यालय गरी ५ वटा धार्मिक गुम्बा पनि तिहार लगत्तै पोखरामा झारिएको प्रशासन प्रमुख केसीले बताए ।
लोमान्थाङ गाउँपालिकाका सामुदायिक विद्यालय अन्तर्गत दिव्यदीप माध्यमिक विद्यालयमा ४५ जना विद्यार्थी छन् । त्यहाँ कक्षा ४ देखि १० सम्मका लागि हिमाली आवासीय छात्रावासका लागि सरकारबाट बजेट उपलब्ध हुन्छ । कक्षा १ देखि ३ सम्मका विद्याथीहरुलाई गाउँपालिकाले प्रतिविद्यार्थी मासिक ४ हजार रुपैयाँ आवासीय सुविधाका लागि बजेट दिने गरेको प्रशासन प्रमुख केसीले जनाए । सरकार लोमान्थाङको २ विद्यालयका लागि वार्षिक ३ लाख ५० हजार रुपैयाँ संघीय ससर्त अनुदान स्वरुप घुम्ती कक्षा व्यवस्थापन गर्न बजेट उपलब्ध गराउने गरेको छ ।
हिउँदयामको अत्यधिक चिसो बढेकाले लोमान्थाङका सरकारी तथा गुम्बा विद्यालय जाडो छल्न बेसीमा स्थान्तरण गर्नुपरेको प्रशासन प्रमुख केसीले उल्लेख गरे । हिउँदयामको अवधिभर बेसीमा झारेर शैक्षिक पठनपाठन गराउने र जाडो सकिएपछि वैशाखको पहिलो साता साविककै स्थानमा लगेर पठनपाठन गराइने प्रशासन प्रमुख केसीले जानकारी दिए ।
उपल्लाे मुस्ताङका १७ सामुदायिक तथा धार्मिक गुम्बा विद्यालय जाडाे छल्न बेंसी
हिउँयाममा उपल्लो मुस्ताङमा अत्यधिक चिसो हुने, नदीनाला, खानेपानी धारा, सेझ्टी टंकी र सिँचाइ कुलोसमेत जमेर बरफ हुन्छ,’ उनले भने, ‘त्यस समयमा गाउँमा जाडो छल्न सबै जसो नागरिक बेसी झर्ने गर्दा गाउँ रित्तो हुन्छ, यसैले अभिभावक तल झर्ने भएकाले सबै कारणको सहजता खोज्न घुम्ती कक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने परम्परा छ ।’
लोमान्थाङ गाउँपालिकाको २ सामुदायिक विद्यालय बर्सेनि घुम्ती कक्षा व्यवस्थापन गर्न आफ्नै शैक्षिक भवन निर्माण गरिसकेका छन् । लोमान्थाङको झिन्जु आधारभूत र दिव्यदीप माध्यमिक विद्यालयको पोखरामा आफ्नै भवन रहेको प्रशासन प्रमुख केसीले बताए ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ७ वटा सामुदायिक र २ वटा धार्मिक गुम्बा विद्यालयहरु जाडो छल्न तिहारपछि बेसी झरिसकेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत प्रचण्ड न्यौपानेले जानकारी दिए । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा रहेका ६ वटै सामुदायिक आधारभूत विद्यालयलाई घुम्ती कक्षामा मर्ज गरी पोखराको हेमजामा व्यवस्थापन गरिएको छ ।
त्यहाँका जनज्योति आधारभूत विद्यालयले तनहुँको शुक्ला गण्डकीमा लगेर घुम्ती कक्षा व्यवस्थापन गरेको शिक्षा शाखा अधिकृत न्यौपानेले बताए । चराङ आवि, मराङ आवि, ढाक्मर, आवि, यारा आवि, घारा आवि र शालिग्राम आविलाई घुम्ती कक्षा मर्ज गरी पठनपाठन गराइएको शिक्षा शाखा अधिकृत न्यौपानेले जनाए ।
गाउँपालिकाको घमी आवि गतवर्ष जस्तै यसवर्ष पनि घुम्तीका लागि बेसी नझर्ने मनसाय व्यक्त भएको उनले उल्लेख गरे । गाउँपालिकाका करिब २ सय बढी विद्यार्थी घुम्तीका लागि बेसी स्थान्तरण भएको र उनीहरुका लागि गाउँपालिकाबाट २० लाख बजेट विनियोजन गरिएको शिक्षा शाखा अधिकृत न्यौपानेले जानकारी दिए ।
उनले गाउँपालिकाभित्र दुई विद्यालयलाई संघीय ससर्त अनुदान जनही ३ लाख ५० हजार पाउने र उक्त अनुदान घुम्ती कक्षा व्यवस्थापनमा खर्च हुने उनले बताए । उनले जाडो छल्न बेसी झरेका विद्यार्थीलाई वैशाखमा उकालेर साविककै स्थानमा पठनपाठन गराइने बताए ।
उपल्लो मुस्ताङका २ पालिकाका विद्यालय जस्तै वारागुङ मुक्तिक्षेत्रका एक सामुदायिक र एक धार्मिक गुम्बा विद्यालय तिहार सकिएलगत्तै जाडो छल्न बेसी झारिएको वारागुङ गाउँपालिकाकी शिक्षा शाखा प्रमुख रेखा पन्तले जानकारी दिइन् । उनका अनुसार वारागुङ मुक्तिक्षेत्र—३ को जननर्मल आधारभूत विद्यालयका १२५ जना विद्यार्थी र कागछोदे धार्मिक गुम्बा विद्यालयका ७१ जना गरी १९६ जना विद्यार्थी घुम्ती कक्षा पढाउन बेसीमा झारिएको हो ।
बारागुङ मुक्तिक्षेत्रमा हिमाली आवासिय सुविधा अन्तर्गत जनशान्ति माध्यमिकमा ४० जना विद्यार्थीले पाएका छन् । गाउँपालिकाले जनशान्ति माध्यमिकमा १५ जना र मुक्तिनाथ आविलाई मासिक ४ हजार आवासीय सहुलियत स्वरुप रकम उपलब्ध गराउँदै आइरहेको छ । शिक्षा शाखा प्रमुख पन्तले प्रदेश सरकारको अनुुदान सामाजिक विकास कार्यालयबाट २० जना विद्यार्थीलाई प्रतिविद्यार्थी ५ हजारक दरले विद्यालयलाई उपलब्ध गराउने गरेको छ ।
उपल्लो मुस्ताङका सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयलाई हिउँदयामको महिनामा पनि बेसी झारेर नियमित पठनपाठन गराइने भए पनि वारागुङ मुक्तिक्षेत्रका केही विद्यालयसहित घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरु पुसको पहिलो साताभित्र अर्थ वार्षिक परीक्षा सकेर हिउँदे बिदा दिने गरिएको छ । यी विद्यालयहरु पुस र माघ महिना बन्द हुने र फागुनको पहिलो साता नियमित शैक्षिक पठनपाठन सञ्चालन गर्ने गरिएको छ ।
सरकारले हिमाली क्षेत्रका विद्यालयलाई पनि एक डालोमा राखेर एक शैक्षिक सत्र कायम गरेकाले मुस्ताङमा पनि विद्यार्थीको शैक्षिक पठनपाठनमा आंशिक समस्या देखिएको छ । हिउँदयाममा पुरै विद्यालयको पढाइ बन्द हुने विद्यालय खुलेको केही दिनमा वार्षिक परीक्षा हुने भएकाले विद्यार्थीहरुको सिकाइ उपलब्धिमा ह्रास आउने गरेको पाइएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया