विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले संस्कारयुक्त शिक्षाले नै समाजलाई सभ्य र अनुशासित बनाउने बताएका छन् । पोखरा १६ बाटुलेचौरको बिन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा सम्मान कार्यक्रममा बुधबार मन्त्री थापाले यस्तो धारणा राखेका हुन् ।
व्यवहारिक शिक्षाका लागि प्रत्येक शुक्रवार विद्यालयले बुक फ्रि डेको रुपमा अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने धारणा राखे । उनले विद्यार्थीको शारीरिक्क तथा मानसिक विकासका लागि पनि बुक फ्रि डे महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । विद्यार्थी वैदेशिक अध्ययनका लागि विदेशिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री थापाले सरकारले पढ्दै कमाउँदै अभियानलाई प्राथामिकता दिनुपर्नेमा जोड दिए ।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पोखरा १६ लाई शैक्षिक हबको रुपमा विकास गराउनुपर्नेमा जोड दिए । उनले यस क्षेत्रको शैक्षिक विकासमा सहयोग गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
सो अवसरमा १० जोड २ मा विज्ञान तथा व्यवस्थापन संकायमा उत्कृष्ट विद्यार्थीहरुलाई आशीष पोखरेल, श्रेया आचार्य, वसन्तकुमार विक, रविना राउत, रिवाज थापा, आशिक गौतम, अन्जन बगाले, अशीष पौडेल,श्रद्धा पौडेल र पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सोनिया परियार ,करिना विक, सिन्धु लम्साल, अञ्जली भट्टराई र आशीष पोखरेललाई नगदसहित बिन्ध्यवासिनी विद्या पदकवाट सम्मान गरिएको छ ।
उनीहरुलाई मन्त्री थापा, वडाध्यक्ष शर्मा, शिक्षा अधिकृत जीवन ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र शिक्षक अभिभावक संघ अध्यक्ष भीमप्रसाद पौडेलले नगद, सम्मानपत्र र मायाको चिनोले सम्मान गरे । कार्यक्रममा पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन ज्ञवाली, कार्यक्रम संयोजक गोविन्द शर्मा पौडेल लगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरुदत्त भट्टराइको अध्यक्षता र सहायक प्रधानाध्यापक रामबहादुर बाँनियाको संचालनमा भएको कार्यक्रममा पोखराका वडा नं. १६, १९, २० र माछापुच्छ्रे गाउँ पालिकाको एक विद्यालय गरी २१ सामुदायिक विद्यालयले सहभागिता जनाएका छन् ।
हाजिरजवाफ प्रतियोगितामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीको सहभागिता छ । प्रतियोगितामा धारा आधारभूत विद्यालय प्रथम, शिवेश्वरी आधारभूत विद्यालय द्वितीय, भारती भवन मावि तृतीय र गायत्री आधारभूत विद्यालय घार्मीले सान्त्वना स्थान प्राप्त गरे । विजयी विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।
तपाईको प्रतिक्रिया