कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशन गर्न तोकिए संयोजक

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न १० वटा भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सभापति देउवाले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाल थारु संघको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।
२०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रूपमा ती संस्थाहरूको महाधिवेशन सम्पन्न गर्न विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग गर्दै आवश्यक निर्देशन समेत गर्न कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भ्रातृ संस्थाहरूको ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जसमा नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक सहमहामन्त्री जीवन परियार, नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक डा।प्रकाशशरण महत, नेपाल किसान महासंघको संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल नेपाल भूतपूर्व सैनिक संघको संयोजक केन्द्रीय सदस्य एनपी साउद तोकिएका छन् ।
त्यसैगरी नेपाल लोकतान्त्रिक खेकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मधु आचार्य,नेपाल थारु संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा गोविन्दराज पोखरेल तोकिएका छन् । प्रत्येक समितिमा २ जना सदस्य छन् ।
तपाईको प्रतिक्रिया