चिप्लेढुंगामा नमस्ते इन्स्टिच्युट

पोखरा ।
नमस्ते एजुकेसन इन्स्टिच्युट प्रालिले आइतबार १९ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको सन्दर्भमा पोखराको चिप्लेढुंगामा नयाँ कार्यालय स्थापना गर्नुका साथै तमु सांस्कृतिक प्रतिष्ठान नेपालको अक्षयकोषका लागि १ लाख २५ हजार सहयोग गरेको प्रालिका प्रबन्ध निर्देशक कर्ण गुरुङले जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा वैदेशिक रोजगारविज्ञ डा गणेश गुरुङले विदेश पढ्न जानेलाई नकारात्मक दृष्टिले हेर्न नहुने बताए । विदेशमा आर्जन गरेको ज्ञान सीपलाई नेपालका लगानी गर्ने वातावरण बनाउनुपर्ने उनले उल्लेख गरे ।
‘उच्च शिक्षा पढनका लागि विदेश जाने र स्वदेशमा फर्केर काम गर्ने विश्वव्यापी रुपमा चल्ने जीवनचक्र हो,’ उनले भने, ‘शेष घले, उपेन्द्र महतो, जीवा लामिछाने लगायतका व्यक्तिसमेत पढ्न विदेश गएका थिए । उनले विदेशमा पढ्न जाने सवाललाई नेपालको लगानीमा रुपान्तरण गर्नुपर्ने उल्लेख गरे ।
गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङले वैदेशिक अध्ययनलाई विदेश पलायनभन्दा त्यहाँ आर्जन गरेको सीप र शिक्षालाई नेपालमा आएर प्रयोग गर्नुपर्ने बताए । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले संस्थाले नेपाली विद्यार्थीको वैदेशिक शिक्षाका लागि भूमिका खेलेको दाबी गरे । उनले नेपालका विद्यार्थी ६० भन्दा बढी मुलुकमा अध्ययनका लागि जाने जानकारी दिए ।
इक्यान केन्द्रीय उपाध्यक्ष भुवन क्षत्रीले विदेशमा आर्जन गरेको सीप, ज्ञान र धन नेपालमा प्रयोग हुनुपर्ने उल्लेख गरे । उनले विदेश पढ्न जानेभन्दा फर्कनेको दर कमी भएको जनाए । कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङले जापानमा खोलेको प्रतिष्ठानले नेपालमा गुरुङ समुदायका विद्यार्थीलाई शैक्षिक सहयोग गरेको बताए । प्रालिले पढ्न जापान जाने विद्यार्थीका लागि परामर्श दिँदै आएको निर्देशक पूर्णकुमारी गुरुङले बताइन् ।
तपाईको प्रतिक्रिया