पोखरा लिंकन इन्टरनेसनल कलेजमा स्वागत र अभिमुखीकरण

पोखरा । पोखरा लिंकन इन्टरनेसनल कलेजले नव आगन्तुक विद्यार्थीलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । पोखरा ८ सिमलचौरमा रहेको कलेजले स्नातक तथा स्नातकोत्तरमा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो ।
कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिनुका साथै क्याम्पसबारे जानकारीसमेत दिइएको छ । कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले भीमकालीपाटन बगरबाट ४२ वर्षअघि लिटिल स्टेप नामबाट प्रारम्भ गरेको शैक्षिक यात्रा +२ हुँदै बिबिए, बिएचएम, बिसीएम र एमबिएसम्म आइपुगेको स्मरण गरे ।
यो अवस्थासम्म आइपुग्दा सबै क्षेत्रबाट साथ र सहयोग मिलेको उनको भनाइ छ । कलेजमा पढेका विद्यार्थीले देशका विभिन्न उद्योग, प्रतिष्ठानमा सेवा दिइरहेको उनले जनाए ।
कार्यक्रमका प्रमुख वक्ता डा रामजी शर्माले पछिल्लो समय पठनपाठनको ढाँचामा धेरै परिवर्तन आएको र कलेजले सञ्चालन गरेका कार्यक्रमले पर्यटन र अन्य आर्जनका क्षेत्रमा योगदान जनाए । उनले नयाँ प्रविधि प्रयोगसँगै सिकाइलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने सुझाव दिए ।
कलेजकी संस्थापक प्राचार्य पम्फा गुरुङले शैक्षिक इतिहास र उपलब्धिबारे प्रकाश पारिन् । कलेजका शैक्षिक गतिविधि, पाठ्यक्रम, आचारसंहिता र भावी कार्यक्रमबारे बिबिए तथा बिएचएम कोअर्डिनेटर ईश्वर सुवेदीले सहजीकरण गरे । एमबिए पहिलो सेमेस्टारकी सिर्जना क्षेत्री तथा बिएचएम तेस्रो सेमेस्टरका सुमन सुनारले कार्यक्रम सञ्चालन गरेका थिए ।
सो अवसरमा विद्यार्थीले साँस्कृतिक प्रस्तुति पनि गरेका थिए । कलेजले १ दशक अघिदेखि स्नातक तहमा बिबिए र बिएचएम कक्षा सञ्चालन गर्दै आएको छ भने सन् २०२३ देखि एमबिए र यसै वर्षदेखि स्नातक तहमा बिसीएसका कक्षा चलाएको छ । निजी स्तरबाट नर्सरीदेखि स्नातकोत्तर तहसम्मको शिक्षामा लिटिल स्टेप तथा लिंकन कलेजले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया