‘समृद्धिका लागि शिक्षा क्षेत्रमा आमूल परिवर्तन जरुरी’

पोखरा । देशको अर्थतन्त्र, समृद्धि तथा विकासका लागि शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकतामा जोड दिइएको छ । पोखरामा प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेश र नेपाल शिक्षक संघ कास्कीको संयुक्त आयोजनामा भएको ‘वर्तमान शिक्षा प्रणालीमा देखिएका विसंगति र निराकरणका उपायहरु’ विषयक अन्तत्र्रिmयाका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
पूर्व शिक्षामन्त्री एनपी साउदले शिक्षालाई रोजगारीसँग जोडेर लैजान विश्वविद्यालय पाठ्यक्रममा जोड दिनुपर्ने बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि शिक्षा ऐन संशोधन अत्यावश्यक रहेको र यसलाई छिटो ल्याउनुपर्नेमा जोड दिए ।
कांग्रेस नेता गोविन्द भट्टराईले शिक्षा क्षेत्रलाई डिजिटलमैत्री पाठ्यक्रमका साथै सीपसँग शिक्षाको अवधारणालाई जोड दिनुपर्ने सुझाए । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नैतिक शिक्षा कमजोर बन्दै गएको कारण समाजमा विकृति बढ्दै गएको तर्क गरे ।
प्राडा कुश्माकर न्यौपानेले नेपालमा कुलपति वा उपकुलपति नियुुक्तिमा हुने विकृति अन्त्य गरिनुपर्ने भनाइ राखे । आगामी दिनमा नेपालमा विज्ञहरुको कमी हुने खतरा देखिन थालेको जनाउँदै उनले देशका युवा जनशक्ति उच्च शिक्षाका लागि विदेशिनु सामान्य अवस्था नभएको जनाए ।
करिब ५३ वर्ष पुुरानो शिक्षा ऐनलाई अहिले पनि मानिराख्नुपर्ने बाध्यता रहिआएको प्राध्यापक भोलानाथ पौडेलको भनाइ छ । कार्यक्रममा नवनिर्वाचित नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलसहितका पदाधिकारीलाई बधाई ज्ञापनसमेत गरिएको थियो ।
तपाईको प्रतिक्रिया